८ भदौ २०७८
सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकाले आफ्नो स्थानीय तहका लागी हेलीप्याट निर्माण गर्न थालेका छन् ।
नेपाल सरकारको एक स्थानीय तह एक हेलिप्याड निर्माण कार्यक्रम अन्तर्गत उक्त कामलाई अगाडि बढाइएको बगचौर नगरपालिका सल्यानले जनाएको छ ।बागचौर नगरपालिकाको रु ५ लाख र नेपाली सेनाको श्रमदानमा बागचौर नगरपालिका वडा नं.२ लस्तम अग्लाटाकुरामा हेलीप्याड निर्माण भैरहेको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बताएका छन् । नगरप्रमुख बुढाथोकीले उक्त स्थानमा भैरहेको हेलीप्याड निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताए ।
यस्तै दार्मा गाउँपालिका वडा नं.३ दार्मा टाकुरीमा पनि हेलिप्याड निर्माणको काम सुरुवात गरिएको छ । गाउँपालिकाको ३ लाख ७५ हजार लागतमा हेलीप्याड निर्माणको कार्यलाई अगाडि बढाइएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन् ।केसीले सोमबार देखि नेपाली सेना उक्त हेलिप्याड निर्माणमा लागेको बताए ।
बिपद ब्यवस्थापनमा हेलीप्याडको महत्त्वपूर्ण भुमीका रहने भन्दै सल्यानका स्थानीय तहले निर्माण गर्न लागेको हेलीप्याडको लागि आफुहरुले निशुल्क रुपमा श्रमदान गर्दै आएको नेपाली सेना सबुजगण सिमखर्कका गणपति कन्चन कृष्ण बस्नेतले बताएका छन् ।उनले २०७६ साल देखि हाल सम्म आफुहरुले पाँच स्थानीय तहहरुमा श्रमदान गरेर हेलिप्याड निर्माण गरिसकेको बताए ।उनका अनुसार जिल्लामा शारदा नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका,कपुरकोट गाउँपालिका,छत्रेश्वरी गाउँपालिका र शिद्वकुमाख गाउँपालिकामा हेलीप्याड निर्माण गरि सकिएको र बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा हेलीप्याड निर्माणकै क्रममा रहेको बताए ।
बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा एकै साथ हेलिप्याड निर्माणको क्रममा आफुहरु रहेको नेपाली सेना सबुजगण सिमखर्कका सहसेनानी दिपक बुढाथोकीले बताएका छन् ।उनले आफ्नो नेतित्वमा ५० जनाको टिम हेलीप्याड निर्माणको कार्यमा लागेको बताए । दुई ठाउँको कामलाई तत्काल सकेर कुमाख गाउँपालिकामा हेलीप्याड निर्माण गर्न जाने तयारीमा आफुहरु रहेको सहसेनानी बुढाथोकीले बताए ।