सल्यानका विभिन्न स्थानीय तहहरुले गाउँ स्तरमै पुगेर कोरोना परिक्षण गर्दै

८ जेष्ठ २०७८ / बिमला बस्नेत

सल्यानका विभिन्न स्थानीय तहहरुले गाउँ स्तरमै पुगेर कोरोना परिक्षण गर्न थालेका छन् ।

जिल्लाका क्षत्रेश्वरी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र दार्मा गाउँपालिकाले गाउँ स्तरमै पुगेर कोरोना परिक्षण गर्न थालिएको बताएका छन् । दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरस समुदाय स्तरसम्म फैलिन थालेपछि र समुदायस्तरमा कोरोना भाइरसको सक्रमण दिनप्रतिदिन बढ्न थालेपछि आफुहरुले गाउँमै पुगी नागरिकको कोरोना परीक्षण गर्न थालेको क्षत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताएका छन् ।

छत्रेश्वरी गाउँपालिकाले प्रत्येक वडामा एन्टिजेन परीक्षण, औषधी वितरण तथा परामर्श कार्यक्रम सञ्चालन गरी कोरोना संक्रमितको पहिचान गर्दै आइरहेको अध्यक्ष केसीले बताए ।उनिले आफुहरुले गाउँपालिकाका सात वटै वडाको पायक पर्ने स्थानमा शिविर सञ्चालन गरी कोरोना परीक्षण गर्दै आइरहेको र हाल सम्म पाँच वटा वडाका ३ सय ४६ जनामा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले पनि गाउँमै पुगी संक्रमितको पहिचान गर्दै आइरहेको बताएको छ । प्रत्येक बस्तीका घरघरमा पुगेर संक्रमितको खोजी गर्ने, संक्रमितलाई उपचारको पहुँचमा ल्याउने कामसमेत गरी रहेको बनगाड कुपिण्डे नगरपालिकाकि उपप्रमुख मञ्जु यरीले बताइन । नगरपालिकामा अहिले संक्रमितको खोजी भइरहेको र सामन्य बिरामी भए पनि उपचार र एन्टिजेन परीक्षण गराउने काममा आफुहरु लागी परेको बताउदै,हाल सम्म वडा नं.४, ५, ७, ८ र ९ का नागरिकको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिइन भने,बाँकी वडाहरुको पनि नियमित रुपमा कोरोना परीक्षण हुने उनको भनाई छ ।

पछिल्लो समयमा समुदाय स्तरसम्म फैलिएको कोरोनालाई नियन्त्रणमा लिन र नागरिकलाई कोरोना संक्रमणबाट बचाउनको लागी दार्मा गाउँपालिकाले पनि उक्त अभियान सुरुवात गरेको बताइएको छ । कोरोना संक्रमणको दायरलाई नियन्त्रणमा लिन आफुहरु जनताको घरघरमै पुगेर जनतालाई कोरोना परिक्षण गर्न लागी परेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।

गाउँपालिका भित्र ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीले रातदिन नभनी काम गरेर नियन्त्रणको प्रयास गरिएको उनको भनाइ छ । अध्यक्ष केसीले कोरोना सक्रमितहरुलाई औषधि उपचार गर्नुका साथै नियमित सम्पर्कमा राखेको, अक्सिजनको आवश्यकता पर्ने बिरामीहरुलाई गाउँपालिकाले निमार्ण गरेको आइसोलेसनमा राखिएको र सामान्य बिरामीलाई सुरक्षित तरिकाले आफ्नै घरमा बस्न भनिएको बताएका छन् । यस्तै जिल्लाका अन्य स्थानीय तहहरुले पनि कोरोना भाइरसको रोकथाम र बिरामीको उपचारका लागी विभिन्न पहलकदमी लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस