बागचौर नगरपालिकाले नगरको नयाँ भवनमा निर्माण गरेको अक्सिजन सहित २५ बेडको आइसोलेसन वार्डको मंगलवार उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले आफूले व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । बागचौर नगरपालिकाले कोभिड १९ का संक्रमितहरुको लागी निर्माण गरेको २५ बेडको आइसोलेसनमा बिरामीको उपचारलाई सहज गराउनको लागि २० थान नयाँ अक्सिजन सिलिन्डरहरू व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन् । जस मध्य ८ वटा सिलिन्डर आइसोलेसनमा ल्याइसकिएको र १२ वटा अक्सिजन सिलिन्डरहरू पनि आउने क्रममा रहेको बताए ।
यस्तै नगर प्रमुख बुढाथोकीले ६० हजार पिस सर्जिकल मास्क र ३ सय पिस के एन नाइन्टी फाइभ मास्क खरिद गरी नगरपालिका लगायत जिल्लाका केही सरोकारवाला निकायलाई वितरण गरेको बताएका छन् । जस अन्तर्गत बागचौर नगरपालिका लाई ४१ हजार २ सय ५० पिस मास्क, १ हजार ७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्डस्ट्यान्ड र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र कोरोना भाइरसको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई समेत आवश्यकता अनुसार मास्क वितरण गरेको बुढाथोकीले बताएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट नगरप्रमुख बनेका बुढाथोकीले नगरको चुनावी अभियानमा नगरप्रमुख भएको खण्डमा नगरपालिका बाट पाउने तलब भत्ता आफूले नलिएर जनताको काममा लगानी गर्ने प्रतिबद्धता गरेका थिए । जस अनुसार बागचौर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले गत वर्ष नगरपालिकाको कोरोना रोकथाम तथा उद्धार कोषमा ४ लाख ५० हजार जम्मा गरेका थिए र आगामी दिनहरूमा पनि आफूले पाउने रकम जनताकै काममा लगानी गर्ने बताए ।
बुढाथोकीले कोरोना भाइरस बाट जोगिनको लागी सचेत भई बस्न नगरपालिका बासीलाई अनुरोध गरेका छन् ।कोभिडको जोखिम परिस्थिति सबैका सामु आएकाले त्यसलाई सामना गर्न खानपिन रहनसहन,सरसफाइ,भिडभाड लाई समेत ख्याल गर्द्वै उच्च मनोबलका साथ आ- आफ्नो ठाउँमा सुरक्षित रहन सबैमा आग्रह गरेका हुन ।जनताको दुखमा आफू लगायत नगर सरकार सधैँ अग्रभागमा रहेर काम गर्ने समेत उनिले बताए ।नगर प्रमुख बुढाथोकीले कोरोनाको कारण जीवन गुमाउने नगरवासी प्रती श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीहरूको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।