सल्यानको बागचौर नगरपालिकाद्वारा कोभिड १९ रोकथामका लागि भएको काम र खर्च विवरण सार्वजनिक


मंसिर २८, सल्यान
सल्यानको एक नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि हालसम्म गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।
बागचौर नगरपालिकाले शनिबार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गरेको हो । कोरोना महामारीको खर्च सार्वजनिक गर्ने सल्यानको पहिलो स्थानीय तह बागचार बनेको हो । कोरोना महामारी संग जुध्दै अन्य नियमित काम पनि गर्नुपर्ने भएकाले व्यस्तताका कारण समय लम्विएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोरोना रोकथामका लागि हालसम्म १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ खर्च भएको जनाएको छ । जसमा सबैभन्दा धेरै क्वारेन्टाइनमा बसेकाहरुलाई खाना तथा आवासमा २६ लाख २० हजार ६ सय रुपैयाँ खर्च भएको नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाहरुलाई प्रतिदिन २ सय रुपैयाँको दरले दिएको उनको भनाई छ । उनका अनुसार नगरपालिकाले तीन किसिमका क्वारेन्टाइन बनाएको थियो । सरकारले बनाएको मापदण्ड अनुसारको एउटा क्वारेन्टाइन, प्रत्येक वडामा सामुदायिक क्वारेन्टाइन र होम क्वारेन्टाइन बनाइएको उनले बताए । मापदण्डको क्वारेन्टाइन खाली भएको र क्वारेन्टाइनमा खर्च भएको बजेट सामुदायीक क्वारेन्टाइनमा भएको उनको भनाई छ ।
त्यस्तै स्वास्थ्यकर्मी तथा सवारी चालकलाई प्रोत्सान भत्तामा २३ लाख ३ हजार ९ सय ६६, स्वास्थ्य सामाग्री खरिदमा २२ लाख २ हजार ४ सय ६७, राहत वितरणमा २१ लाख ५८ हजार ९३ रुपैयाँ, स्वंयसेवकहरु परिचालनमा १८ लाख ५४ हजार, स्वंयमसेवकको खाजामा ८ लाख २४ हजार, क्वारेन्टाइन निर्माणमा २ लाख ५९ हजार ६ सय ४५, क्वारेन्टाइन व्यवस्थापनमा १ लाख ४७ हजार ९ सय ६५, नागरिक उद्धारमा १ लाख ९१ हजार ७ सय ५० र अन्य विभिन्न काममा २ लाख ५ हजार ६ सय ६८ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
नगरको कोरोना कोषमा बागचौर नगरपालिकाको रकमान्तर, संघीय तथा प्रदेश सरकारको सहयोग र विभिन्न तहका व्यक्तीहरुले गरेको सहयोगबाट कुल २ करोड ६१ लख ३५ हजार १ सय ३५ रुपैँया जम्मा भएको थियो । जसमा १ करोड २७ लाख ६८ हजार १ सय ५४ रुपैयाँ हालसम्म खर्च भएको छ भने १ करोड ३३ लाख ६६ हजार ९ सय ८१ रुपैयाँ खर्च हुन बाँकी छ ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख बुढाथोकीले कोरोनाको सुरुवातीमा स्थानीय सरकार एक्लैले काम गरेको भन्दै अहिले देखिएका राजनीतिक पार्टी तथ संघसंगठनहरु त्यो समयमा निदाएको आरोप लगाए । उनले स्थानीय सरकारले बजेट कम भएपनि कोरोना रोकथामका महत्वपुर्ण काम गरेको बताए । रोगसंगको लडाइमा सुरुवातीमा सबै डराएपनि निश्चित मापदण्ड पालना गरेर सजग बनेमा यो पनि सामान्य रुघाखोकी जस्तै गरी पचाउन सकिने उनको धारणा थियो ।
नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा शनिबार भएको पत्रकार सम्मेलनको सहजीकरण नगरपालिकाको शिक्षा शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसीले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख कल्पना पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल लगाएत लेखा शाखा, सुचना शाखा र स्वास्थ शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस