छत्रेश्वरीका विद्यालयमा जिल्लामै पहिलोपटक अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

१ साउन, सल्यान
सल्यानको छत्रेश्वरि गाउँपालिकाले पालिका भित्रका ७ वटा विद्यालयमा जिल्लामैै पहिलो पटक अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ ।
छात्राहरुका लागि स्यानिटरी प्याड उपलब्ध गराउने उद्देश्यले स्वचालित मेसिन जडान गरिएको हो ।
सामुदायिक विद्यालयमा महिनावारी भएको बेला छात्राहरु विद्यालय नआउने समस्याका कारण छात्राको पठनपाठन गुणस्तरीय नभएको देखिएकाले उक्त मेसिन जडान गरिएको र जडानपछि बिद्यालयमा छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने छत्रेश्वरीका अध्यक्ष सन्तोष के.सी.ले बताए ।
महिनावारी भएपछि छात्राले बीचैमा कक्षा छाड्ने र एक सातासम्म विद्यालय नआउने समस्या देखियो, अधिकांश छात्रामा लाज र अन्य स्वास्थ्य समस्याका कारण विद्यालय नियमित नआउने समस्या हल हुनेछ अध्यक्ष केसिले भने ।

मेसिन भित्र एकपटकमा ५० स्यानिटरी प्याड अटाउने छन।
उक्त मेसिनमा स्मार्टकार्ड छिराएको १० सेकेन्ड भित्रै प्याड मेसिनबाट बाहिर खस्ने बताएको छ। बिधुत अबरुद्ध भएको समयमापनि मेसिनमा ५ घन्टासम्म धान्ने पावर ब्याकअप राखिएको छ।

गाउँपालिकाले जनता माबी बुरासे, लक्ष्मी माबी जयचौर,महेन्द्र माबी लेखपोखरा,शारदा माबी संखमुल,जानकी माबी दोहलीमा मेसिन जडान गरेको हो।यस अघि भानुभक्त माबी दमाचौर र त्रिभुवन जनता माबी भोटेचौरमा अटोमेटिक प्याड मेसिन जडान गरिसकिएको गाउँपालिकाले जनाएको छ।

महिनावारी भएको समयमा छात्राहरु बिद्यालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले ७ वटा माध्यामिक बिद्यालयहरुमा प्याड मेसिन जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।उनका अनुसार छात्राहरूले एटिएमजस्तै मेसिनबाट स्यानिटरी प्याडको निशुल्क सुविधा पाउनेछन्।

प्रतिक्रिया दिनुहोस