दिपसागर भण्डारी
२५ असार, बागचौर
सल्यानको बागचौर नगरपालिकाले ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाँको नयाँ बजेट पारित गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि पारित गरेको उक्त बजेट जनतामुखी भएको बागचौर नगरपालिका सल्यानले जनाएको छ । बिहिबार बजेट सार्वजनिकिकरण कार्यक्रममा बोल्दै, बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले संघियताको मुल मर्मलाई बुझेर उक्त बजेट बिनियोजन गरेको बताएका छन् । श्रम तथा रोजगार, सामाजिक बिकास, शिक्षा, खेलकुद, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता, कला-साहित्य र संस्कृति, पुर्वाधार बिकास, बन वातावरण तथा बिपद, सुशासन तथा संस्थागत बिकास, सुचना संचार तथा प्रबिधी, न्याय तथा कानुन, बित्तीय ब्यवस्था लगायतका क्षेत्रमा बजेट बिनियोजन गरिएको नगरप्रमुख बुढाथोकीले बताएका हुन् । कार्यक्रममा बोल्दै उनले जनतासँग जनप्रतिनिधिको प्रत्यक्ष सम्बन्ध राख्ने हेतुले विभिन्न कार्यक्रमहरु समेत संचालन गरिने बताएका छ्न् । कार्यक्रमहरुमा “बालबालिका सँग मेयर” कार्यक्रम, जनतासँग जनप्रतिनिधि कार्यक्रम, “उपप्रमुखसँग आज” कार्यक्रम, आमा बुवा दुबै गुमाएका १० बर्ष मुनिका बालबालिकालाई बार्षिक रुपमा ५ हजार प्रदान गर्ने, २० रोपनी भन्दा बढी जग्गा कृषि क्षेत्रमा प्रयोग गर्ने प्रतिघर परिवारलाई ५० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने जस्ता आकर्षक कार्यक्रमहरू प्रस्तुत भएका छन् । नगरप्रमुख बुढाथोकीले जनताको बिकासमा जनता र जन प्रतिनिधिको सहभागिता रहनु पर्ने, बिकास निर्माणको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनको लागि राजनीतिक आग्रह-पुर्वाग्रहबाट टाढा रहन सबैलाई अनुरोध गरे । उनले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सचेतताका साथ सुरक्षित रहन नगरबासीलाई आग्रह समेत गरेका छ्न् । “समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता, आर्थिक तथा पुर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता“ भन्ने मुल नाराका साथ संचालन भएको छैठौं नगरसभाबाट बितिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, विशेष अनुदान, प्रदेश सरकार, आन्तरिक श्रोत गरेर जम्मा ७१ करोड ६३ लाख ६२ हजार ९ सय ९० रुपैयाको बजेट नगर उपप्रमुख कल्पना पुनले सभामा प्रस्तुत गरेकी थिइन् । पुनले आर्थिक बर्ष २०७७/०७८ महिलामुखी सृजनशिलता, सुशासन सम्बन्धिका कार्यक्रमहरु पनि अगाडि बढाइएको बताएकी छ्न् । कार्यक्रममा बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, पत्रकार, सुरक्षा निकाय, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बागचौर नगरपालिकाका अधिकृत पुर्णबहादुर वलीले गरेका थिए ।