सल्यानको दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ लागि स्वास्थ्य, सरसफाइ, रोजगार, उत्पादन लगायतका कार्यलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दार्मा गाउँपालिकाले सोमबारदेखी सुरु गरेको ७ औँ निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले “सामाजिक न्याय, शान्ति र आत्मनिर्भरता, दिगो बिकास सहितको सुशासन दार्मा गाउँपालिकाको प्रतिबद्धता”लाई निरन्तरता दिई गाउँपालिकाका सम्पूर्ण कार्यलाई अवलम्बन गरिने बताएका छन् ।
आर्थिक बर्ष २०७७/०७८ मा “रोकौ महामारी, उठाऔ पुर्वाधार, बढाऔ उत्पादन, बनौ स्वरोजगार” भन्ने मुलनारा तय गरी कोभिड १९ महामारीलाई उच्च प्राथमिकता दिइ, यसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको ब्यवस्था गर्द्वै पालिका भित्र आवश्यक औषधिजन्य सामाग्रीको सहज आपूर्ति र उपलब्धता सुनिश्चित गरि महामारीबाट जनतालाई सुरक्षित राखिने कुरालाई प्राथमिकता दिइने बताएका छ्न् ।
अध्यक्ष केसीले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा दिन पालिका स्तरको एक सुबिधायुक्त अस्पताल बनाउने, खानेपानी सुरक्षा आयोजना अगाडि बढाउने, पाठ्यपुस्तक रहित पाठ्यक्रम सहित कक्षाकोठामा शिक्षक प्रवेश अभियान संचालन लगाएत गुणस्तरीय शिक्षालाई पालिकाका सम्पुर्ण बिद्यालयहरूमा लागु गरिने, भौतिक पुर्वाधारको बिकासलाई तिब्रता दिन संघिय सरकार, प्रदेश सरकार र अन्य सरोकारवाला निकाय संग समन्वय गरि अगाडि बढ्ने लगायतका ५० बुदे निति तथा कार्यक्रमहरु सार्वजनिक गरेको बताएका छ्न् ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आफु निर्वाचित भए यता दार्मा गाउँपालिकाको समग्र बिकासलाई प्रभावकारी ढंगले अगाडि बढाई रहेको बताए । उनले गाउँपालिका भित्रका सडकहरुलाई गुस्तरीय वनाउन स्तरबृद्वी गर्ने, पालिका भित्रका जनतालाई उज्यालो प्रदान गर्नको लागी बिधुत बिस्तार गर्ने, खानेपानीको सहजताको लागी साना देखी ठुलाठुला लिप्ट सिस्टम खानेपानी आयोजनाका कार्यहरुलाई तिव्रता दिने, खोलाहरुमा पुल निर्माण गर्ने लगाएतका कार्यहरुलाई अगाडि बढाएको बताए ।
कृषिमा आत्मनिर्भर हुने गाउपालिकाको लक्ष्य छ । पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई गाउँपालिकाले सम्मान गर्दै, सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गर्ने तथा पर्यटन प्रवर्द्धन, साहित्य कला संस्कृती, खेल क्षेत्रको बिकास लगाएतका कार्यक्रमहरु अगाडी सारिएको बताए ।
गाउँपालिका उपाध्यक्ष टिका शर्मा (वली) ले निति तथा कार्यक्रम उपर सहभागीले उठाएका प्रश्नको सहजीकरण गरेकी थिइन् ।असार १० गते समापन गरिने कार्यक्रममा बजेट बिनियोजन समेत गरिने उपाध्यक्ष टिका शर्मा (वली)ले बताएकी छ्न् ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का, कानुनी सल्लाहकार अधिवक्ता इन्द्र भण्डारी लगायत गाउँ सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।