सल्यानका कोरोना संक्रमितले त्रिपाल मुनि रात विताए

जेठ १९, सल्यान ।
सल्यानका कोरोना संक्रमितहरुले त्रिपालमुनी रात बिताएका छन् । बनगाड कुपिण्डे नगरपालिकामा शनिबार फेला परेका २५ जना मध्ये १३ जनाले त्रिपाल मुनी र विद्यालयको बरण्डामा रात बिताएको खुलेको छ ।
संक्रमित २५ जना मध्ये आइतबार १२ जनालाई सल्यान अस्पताल लगिएको थियो भने १३ जनालाई चौरजहारी अस्पताल लिने प्रयास गरेपनि त्यहाँ नभएपछि सुर्खेत लिने भनिएको थियो । सुर्खेत लिन ढिला भएपछि १३ जनाले रातभर खुला चौर र विद्यालयको बरण्डामा रात बिताएको बताएका छन्।

रातभरि बनगाड क्याम्पसमा बसेका एक संक्रमितले भने, ‘हामी क्याम्पसको वरणडामा रातभर बसेका छौ बाहिर पानी परिरहेको छ चिसोले झनै समस्या भएको छ । हामिलाइ छिटै अस्पताल सम्म पु¥याउन पहल गरिदिनु प¥यो । अहिले साथीहरु सङ्ग नजिक हुन मिल्दैन त्यहि बाध्यताले बाहिर बसेका हौं ।’

त्यस्तै प्रभाकर मावीको क्वारेन्टाइन बसेका मध्य केहि रातभर त्रिपाल मुनि बसेका छन । क्वारेन्टाइनमा कोठा नहुदा बाहिर फिल्डमा त्रीपाल टागेर बसेका छन ।

जिल्लामा जेठ १७ गते भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि गएराती त्रिपालमुनी बसेका हुन् ।

आज बिहान सुर्खेत अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ । अन्य सरकारी संरचना नभएकाले सबै विद्यालय र टेन्ट मुनि राख्नुपर्ने बाध्यता भएको नगर प्रमुख गोविन्द कुमार पुनले बताएका छन् ।

उनले भने, ‘विद्यालय सबै भरिभराउ छन । खुला चौरमा राख्नु बाहेक हामीसँग विकल्प छैन । प्रदेश सरकारसँग पाल मागेपनि आश्वासन वाहेक अन्य केहि पाइएको छैन । एक सय पाल पाएको भए अवस्था केहि सहज हुने थियो ।’

बन्गाड कुपिण्डे नगरपालिकाका १८ वटा बिद्यालयमा अहिले १ हजार २ सय जना भन्दा बढी क्वारेन्टाइनमा रहेका छन् । बन्गाड क्याम्पस बन्गाड र प्रभाकर माद्यामिक बिद्यालय देबस्थलमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाईएको थियो ।

ती मध्ये अहिले ९० जनाको रिपोर्ट आएको र बाँकी २ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाई छ । बन्गाड क्याम्पसमा रहेका २२ जना र देवस्थल क्वारेन्टाइनमा रहेका ३ जनामा संक्रमण पुष्टी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस