बैशाख ८ काठमाण्डौ
निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार र कर्मचारीले चैत महिनाको पूरै तलब पाउने भएका छन् । तर, वैशाखबाट भने आधा मात्र पाउने सम्भावना छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि लकडाउन गरेपछि कतिपयले आधा त कतिपयले बेतलबी बिदा दिएका थिए । उद्योगीहरूले पनि बन्द अवधिमा पूरै महिनाका तलब खुवाउन नसक्ने बताएका थिए । सरकारले भने चैतको तलब दिनुपर्ने बतायो ।
आइतबार उद्योग मन्त्रालय, व्यवसायीका छाता संगठन र मजदुर युनियनबीच भएको छलफलमा सरकारको निर्णय अनुसार संगठित क्षेत्रमा कार्यरत मजदुरलाई चैतको तलब दिने लिखित सहमति भएको छ ।
यो सहमतिसँगै वैशाखबाट लागु हुनेगरी नयाँ खालको निर्णय गर्ने मौखिक सहमति भएको छ।
छलफलमा सहभागी एक उद्योगी नेताका अनुसार लकडाउनअघि चैत १० सम्म काममा लगाएका कारण यो महिनाको लकडाउन अवधिको पूरा पारिश्रमिक भुक्तानी गर्न सहमति जनाइएको हो ।