परदेशमा ज्यान ठिक छ, मन भने आत्तिएको छ

परदेशमा ज्यान ठिक छ, मन भने आत्तिएको छ’
मेरो कथा मेरो भोगाई

सेर बहादुर खड्का, सल्यान ।

हाल, दुबई अबुदाबि ।

म रोजगारीको सिलसिलामा म २०१६ मार्च २४ तारिक आफ्नो जन्म भूमि छोडि सपनाको संसार दुबई छिडे । भिजिटमा दुबई आईयो तर दलालको फन्दामा परेको आएकै दिन थाहा भयो । म लगाएत अरु दुई जाना साथिहरु पनि थियौ । काम पाउन धेरै मुस्किल भयो कयौ कम्पनिना कामको लागि दौड धुत गरियो तर कतै काम पाईएन १ महिना पछि एउटा होटेलमा भाडा माझ्ने काम मिल्यो । म त्यो दिन सारै खुसि भए आज त्यहि काम गरिरहेको छु । ५ महिना एउटा होटेलमा काम गरे तर त्यो कम्पनिमा भिजा लागेन त्यस पछि मैले काम गर्ने कम्पनि चेन्ज गरे अहिले अरबिको होटेलमा काम गरि रहेको छु । म अहिले यूएईको अबुदाबि मा छु । पहिलेको र अहिलेको दैनिकी फेरिएको छ । काम चलिरहेको छ ।

अहिले बिश्वमा कोरनाको त्रास छ । त्यसको अछुतो दुबई पनि रहेन । तर कोरोनाको कहरले नै समय छोट्टिएको छ । पहिले जस्तो धेरै मेरो काम गर्दिन किन कि जति पुरानो भयो त्यति काम कम हुदो रहेछ । अहिले मेरो दैनिकि भनेको होटेलमा भाडा माझ्ने देखि लिएर ओईटर क्यासिएर डेलिभरि फोन रिसिप गर्ने काम हो । अहिले कोरोनाको डरले अबुदाबि सहरमा कम्पनि राति ८ बजे देखि बन्द हुन्छन र मैले काम गर्ने क्याफटेरिया दिनको १४ घन्टा मात्र खुल्छ पहिले भने १९ घन्टा खुल्थो । पहिले मेरो होटेलमा ८ जना स्टाप थियो । अहिले भने काम नभएका कारण म लगाएत ४ जनाले मात्र काम गर्छाै । अरु ४ जनालई भने बिदा दिई सकेको छ उनिहरु कोठामा बिसरहेका छन । उनिहरुको तलब पनि नदिने सुनाउदै थियो होटेलका मालिकले हाम्रो पनि ३० प्रतिशत तलब कटौति गर्दै छ । तर पनि काम गर्न बाध्य छौ । उता कोरनाको डर उता कामको तनाब ।

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । अप्रिल ५ देखि यूएईको दुबई सहर दुई हप्ता लकडाउनमा छ । त्यसैले त्यहाँ काम गर्ने धेरै नेपालीहरुलाई अब के गर्ने भन्ने चिन्ता बढेको छ ।

यहाँ हरेक मानिसमा अहिले डर छ । सबैले आ–आफ्नो तरिकाबाट सावधानी अपनाइरहेका छन । मान्छेहरु एक अर्काको नजिक पर्न समेत डराइरहेका छन् । केही दूरी राख्दै हाई हेल्लो र सञ्चो बिसञ्चो सोध्ने काम भएको छ । सयौ नेपालिहरुको राजगारि गुम्ने खतरा छ । तर पनि बिदेशि भुमिमा बस्नुको बिकल्प छैन । सरकारले अप्ठ्यारोमा परेकालाई नेपाल फर्काउने तर्फ धान दिएको छैन ।

यूएईमा भने हप्ता दिन अघिसम्म सङ्क्रमणं धेरै देखिएको थिएन । तर अहिले भने संक्रमितको सङ्ख्या बढ्दो क्रममा रहेकोले पनि मानिसहरु बडी त्रसित देखिएका छन । आज सम्म ३३६० जनामा कोरनाका बिरामि छन भने ४८० बिरामि निको भएर घर फर्किसकेका छन भने १६ जनाको मृत्यु भई सकेको छ ।

बिहान काममा आउदा र बेलुकी कोठामा पुग्दा शरीरको तापक्रम नापिएको छ र ड्युटीमा हुँदा पनि आफैले सुरक्षा सतर्कता अपनाएकोले पनि आफू सुरक्षित भएको लागेको छ । तर पनि सारा बिश्वभर कोरोनाको महामारी फैलिरहँदा मन भने पोलेको छ ।

परदेशमा छु, पलपल घरदेशको यादले तड्पाइरहेको छ । घरदेशमा समेत यतिबेला लकडाउनको अवस्था छ ।

सरकारले कोही कसैलाई पनि अति आवश्यक कामबाहेक आफ्नो घरबाट बाहिर ननिस्कनको लागि आग्रह गरेको छ ।

सुरुमा त सङ्क्रमित धेरै थिएनन्, तर अहिले बढेको छ । अहिले त घरदेशमा पनि कोरोनाको बिरामी भेटिएका छन् । डर लाग्छ कतै त्यता पनि फैलिंदै जाने हो कि भनेर । आफू यहाँ सुरक्षित भए पनि डर हुने रहेछ । हरेक पल घरकै बुवा र श्रीमतीसँग कुराकानी हुन्छ ।

घरका सबैलाई सुरक्षित साथ रहन अनुरोध गरेको छु ।
समय समयमा साबुनपानीले हात धुनु, अनि जता पायो नछुनु र यो समय कोही कसैसँग पनि हात नमिलाउनु बरु जोकोही भए पनि नमस्कार गर्नु । मुखमा मास्क लगाउनु र धेरै ख्याल गर्नु । मैले पनि सधैंजसो हुन्छ भन्दै तपाईंहरु पनि ख्याल राख्नु है भनिरहन्छु ।

यहाँको सरकारी निकायहरुबाट सुरक्षाका लागि भरपुर प्रयास भएको छ । यस्तो व्यवस्था देख्दा चाहिँ परदेशमा भए पनि खुशी लाग्छ । आफ्ना नागरिक मात्र भन्दा पनि यहाँ काम गर्ने हरेकको सुरक्षाको निम्ति सम्बन्धित निकायहरुले काम गरेको पाएको छु ।

काममा जाँदा सबैले अनिवार्य मास्क र पञ्जा लगाउनुपर्ने, शारीरिक दूरी कायम गर्ने, अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सार्वजनिक गाडीमा समेत कमभन्दा कम यात्रु राख्ने लगायतका धेरै निर्णयहरु स्वागतयोग्य छन् । विभिन्न सञ्जालमार्फत समय समयमा सुरक्षा सतर्कता अपनाउनका लागि सबैमा अनुरोध भैरहेको छ ।

खान बस्न त्यति समस्या भएको भने छैन । खानेकुरा पाइने मार्केटहरु खुलिरहेका छन् । सुपरमार्केट, हाईपरमार्केटहरु सुरक्षा सतर्कता अपनाउँदै आफ्ना ग्रहकहरुलाई सुबिधा दिइरहेका छन् । थोरै समय काम गर्नुपर्ने भएकाले फुर्सदको समयमा परिवार र साथीभाइसँग गफ गरेर बिताउँछु । समय समयमा समाचारहरु पनि सुन्ने गरेको छु ।

अति व्यस्त समयतालिका र भिडभाडका साथ अघि बढ्ने यो सहरहरु अचेल शान्त भएका छन् । बजारमा चहलपहल छैन । मानिसहरु पनि अति आवश्यक कामबाहेक बाहिर निस्किएका छैनन् । यो बेला सबैलाई आफ्नो काम, ज्यान र परिवारको माया छ । त्यसैले पनि यहाँको सरकारले जारी गरेको नियम मानिरहेको छु।

नेपालमा हुनेलाई पनि सरकारले जारी गरेको नियम पालना गर्नुहुन अनुरोध गर्दछु । भिडभाड नगर्नुहोला । केही समय घरमा जे जसो छ, तिनै खाएर जोहो गर्नुहोला । अवस्था सामान्य भइसकेपछि मन लागेको खानुहोला । मन लागेको ठाउँ जानुहोला । तर अहिले भने बसौं । तपाई बाहिर नगएर घरमै बस्दा कोरोना तपाईँको घरसम्म आउँदैन । यो परिस्थितीबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं 

प्रतिक्रिया दिनुहोस