चैत ४ गते कतार एरवेजबाट काठमान्डौ आएका एकजना सल्यानमा भेटिए

कतार ऐरवेजबाट नेपाल आएका यात्रुहरु मध्ये एक जना यात्रु सल्यान दार्मा गाउँपालिकामा रहेको खुल्न आएको छ ।

दार्मागाउँपालिका वडा नं. १ गोडबांग निवासी पूर्ण बहादुर चन्दका छोरा २५ वर्षीय जित बहादुर चन्द चैत ४ गतेको जहाजमा नेपाल आएको र उनको साथमा काठमाडौंबाट सोही स्थानका विर्ख बहादुर चन्द सँगै आएको दार्मागाउँपालिका का अध्यक्ष निम बहादुर के.सी (अरुण) ले जनाएका छन् ।

उनीहरु काठमाडौंबाट रुकुम झुल्नेटा–रुकुम नुवाकोट हुंदै सार्वजनिक गाडीमा घर पुगेको बताईएको छ । स्वास्थ्य चौकी दार्माकोटका इन्चार्ज आकाश चन्द र वडा अध्यक्ष कवि कुमार चन्दलाई हवाला दिंदै अध्यक्ष के.सी.ले उनीहरु गए रातिमात्रै करिब १० बजे घर आईपुगेको बताएका छन् । उनीहरु चेकजाँच नै नगराएर घर आएको उनले बताए ।

सो स्थानमा सबैजनालाई भेटघाट नगर्न, बाहिर नसिस्किन र गाउँमा आवत जावत नगर्न विशेष अनुरोध गरिएको छ । चन्द र उनीहरुको स्वास्थ्य परीक्षण गर्नको लागि स्वास्थ्य चौकी इन्चार्जको नेतृत्वमा टोली पठाईएको अध्यक्ष के.सीले जानकारी दिएका छन ।

सरकारले कतारबाट चैत ४ गते काठमाडौं आएको जहाजमा सवार यात्रुहरु मध्ये १९ वर्षीय एक युवतीलाई संक्रमण देखिए पछि सो जहाजमा यात्रा गर्ने यात्रुहरुलाई २४ घण्टा भित्र खोजी गर्न सरकारले विभन्न सूचनाहरु जारी गरेको छ ।

सो दिन कतारबाट काठमाडौं आएका ३ वटा फ्लाईट मध्ये कुन फ्लाईटमा उनी आएका हुन भन्ने कुरा खुलेको छैन । यद्यपि सो क्षेत्रमा अहिले भय र त्रासको वातावरण छ । चैत ४ गते विहानको जहाजमा २०५ जना, सांझको जहाजमा १०६ जना र राती १२.४० को जहाजमा १५३ जना यात्रुहरु काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस