कर्णाली प्रदेश सरकारद्वारा ५० करोडको कोरोना रोकथाम कोष

१० चैत, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि ५० करोड रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कोष स्थापनाको घोषणा गरेको हो । त्यस्तै कर्णालीका सबै जिल्ला विपद व्यवस्थापन कोषमा प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा खटिने कर्णाली प्रदेशका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संघीय सरकारले तोकेको मापदण्डअनुसारको सेवा सुविधा उपलब्ध गराउने पनि निर्णय गरेको छ ।
त्यस्तै कोरोना भाइरस रोकथाम तथा प्रतिकार्य योजनाका लागि आवश्यक पर्ने आर्थिक तथा भौतिक कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशका प्रमुख सचिवको नेतृत्वमा ९ सदस्यीय कार्यकारी समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस