१४ फागुन, सल्यान
सल्यानमा संचालित प्रादेशिक महोत्सवको अन्तिम दिन मंगलबार हजारौं दर्शकहरुको उपस्थिति रहेको थियो । महोत्सवको मुख्य आयोजक सल्यान उद्योग वाणिज्य संघले मंगलबार महानायक राजेश हमाल आउने भनेर व्यापक प्रचार गरेपछि हजारौं दर्शकहरु महोत्सव हेर्न आएका हुन ।
कारण थियोे कार्यक्रम संचालकले राजेश हमाल आउन नसकेको जानकारी दिएपछि । राजेश हमाललाई हेर्ने भनेर अप्राहन्न ४ बजेसम्म कार्यक्रम स्थल भित्र कुरेर बसेका दर्शकहरु एकाएक उठेर गए ।
यसरी कार्यक्रम छोडेर जाने दर्शकहरूले आयोजकले आफुहरुलाई झुक्याउन सम्म झुक्याएको बताए । बागचौर नगरपालिका ९ बाट महोत्सव हेर्न आएका प्रताप ओलीले भने, “घरबाट ३ सय रुपैयाँ गाडी भाडा तिरेर राजेश हमाललाई हेर्ने भनेर आइयो, महोत्सवमा प्रवेश गर्न सय रुपैयाँको टिकट समेत काटियो तर अन्तिममा आएर आयोजकले हामीलाई उल्लु बनायो ।”
यसरी अन्तिम दिनमा दर्शकहरूलाइ ढाँटेर आयोजकले ठगी धन्दा अपनाएको महोत्सव हेर्न आएका सहभागीहरूले बताएका छन् । महोत्सव ठेक्कामादिएको र एकलौटी ढंगले चलाएको भन्दै आज बिहान मात्रै सल्यान उद्योग वाणिज्य संघका कार्यसमिती भित्रै पनि ठुलो विवाद भएको स्रोतले दियो अनलाइनलाइ बतायो ।
मौसमको प्रतिकुलताका कारण राजेश हमाल काठमाडौंबाट आउन नसकेको संचालकले कार्यक्रमको स्टेजबाट उद्घोष गरेपनि, आयोजकले राजेश हमाल महोत्सवको लागि हिजो राति नै सल्यान आएको जानकारी दिएको थियो । महोत्सवका आवास उपसमितिका संयोजक तथा सल्यान उद्योग वाणिज्य संघका सदस्य विकास डिसीले सोमबार राति १० बजे ४० मिनेटमा राजेश हमाल श्रीनगरको युनाइटेड होटलमा आइसकेको भनेर फेसबुकमा जानकारी गराएका थिए । तर उक्त स्टाटस उनले अहिले डिलिट समेत गरेका छन् ।
मंगलबार अपरान्ह राजेश हमाल नआउने उद्घोष पछि महोत्सव समापन कार्यक्रम गरिएको हो ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानले यहि माघ २९ देखी फागुन ११ गते सम्म आयोजना गरेका प्रादेशिक कृषि,पर्यटन,उद्योग,ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ मंगलबार सम्पन्न भएको हो ।
महोत्सव अबधिभर ३ करोड ५० लाखको कारोबार भएको र करिब ८५ हजार दर्शकले महोत्सव अबलोकन गरेको आयोजकले जनाएको छ।
सल्यान जिल्लामा करिब १० बर्ष पछि सल्यान उधोग बानिज्य संघले जिल्लामा एउटा एतिहासिक महोत्सव भएको र आफुहरु लक्ष्य अनुसार सफल भएको मुल समिति संयोजक वीर बहादुर चलाउनेले जानकारी दिएकाछन। उनले सल्यान जिल्लाका कृषि,पर्यटनको बिकासको गर्ने उदेश्यले आयोजित महोत्सव लक्ष्य अनुसार सफल भएको बताए।
महोत्सवमा बालबालिका,जेष्ठनागरिक,बिद्यार्थी,अपाङ्ग लाई प्रबेश निशुल्क गरिएको थियो । सल्यानका १० वटा स्थानीयस्तरका कलाकारको दोहोरी प्रतियोगिता,महोत्सवमा बाल उद्यान तथा रमाइलो मेला, स्थानीय जडीबुटीको कनिबेच, स्थानीय उत्पादित बस्तुको किनबेच, स्वदेशी तथा विदेशी उत्पादनको किनबेच, नेपाली, चमेना गृह सञ्चालन,कर्णाली प्रदेशका १० वटै जिल्लाका पर्यटकीय स्थलका फोटोहरु पनि प्रर्दशन गरिएको थियो ।