सल्यानमा यो बर्ष १७ स्थानमा मतदाता शिक्षा कार्यक्रम लागु गरिने

दियो अनलाइन
पौष २२, सल्यान

सल्यानमा यो बर्ष १७ स्थानमा मतदाता शिक्षा कार्यक्रम लागु गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
मतदातालाई मतदान गर्ने तरिका सहित जिल्लाका १७ विद्यालका सामाजिक शिक्षकको प्रयोग गरी मतदाता शिक्षा दिन लागिएको जनाइएको हो । संचारकर्मीसंगको अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी हरी बहादुर बुढाथोकीले जिल्लामा मत वदर हुने समस्यालाई मध्येनजर गर्दै यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन ।
कुमाख ५ मा भएको वडाअध्यक्षको उपनिर्वाचनमा पनि ६० मत वदर भएको र वदर भएको अधिकांश मतपत्र औठाछाप हानिएको भन्दै उनले औठाछाप हैन स्वस्तीक चिन्ह हान्नुपर्ने जानकारी सबैले दिनुपर्ने बताए ।
जिल्लामा चल्ने त्यस्तो मतदाता शिक्षाका लागि शिक्षा कार्यालय सल्यानसंग शिक्षा दिन सक्ने सामाजिक शिक्षक भएका १७ विद्यालयको नाम माग गरिएको उनले बताए । उनले जिल्लामा यो बर्षमा ९ सय ६८ मतदाताको नाम दर्ता गरिएसंगै हाल सम्म १ लाख ४२ हजार ४ सय १४ जनाको नामावली दर्ता भएको जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयमा विदाको दिन बाहेक हरेक दिन विहान १० देखि बेलुका ५ बजेसम्म नामावली दर्ता गर्न सकिने भन्दै उनले विभिन्न शिविर तथा इलाका प्रशासन कार्यालय थारमारेबाट पनि यो दिइरहेको बताए । कार्यक्रम सहजिकरणमा कम्प्युटर अपरेटर तेजेन्द्र कुमार चन्दले पनि सघाएका थिए ।
त्यस्तै अन्तरक्रियामा र्यक्रममा निर्वाचन आयोगको ५ बर्षे रणनीतिक योजनाका विषयमा पनि जानकारी गराइएको थियो । २०७६।७७ देखि २०८०।०८१ सम्मको बर्षलाई तोकेर निर्वाचन आयोगले रणनीतिक योजना निर्माण गरेको भन्दै कार्यक्रममा रणनीतिक खाका, उद्देश्य, रणनिति, कार्यनीतिका विषयमा जानकारी गराइएको छ । त्यस्तै राजनीतिक दल सम्बन्धी ऐन, दलको काम कर्तव्य र अधिकार, दलको लेखा तथा लेखा परिक्षण, दर्ता खारेजी जस्ता विषयमा पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस