विकास साझेदारीको ६ करोड सल्यानका यी स्थानमा विनियोजन


कार्तिक १५, सल्यान ।
प्रतिनिधि सभाबाट यो बर्ष सल्यानमा अघिल्लो बर्ष भन्दा २ करोड बढि रकम विनियोजन गरिएको छ । संघिय संसद टेक बहादुर बस्नेतले संघको तर्फबाट स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन ।
बजेट कार्यान्वयनको समन्वयकारी भुमिका पाएको जिल्ला समन्वय समितिको सभाहलमा पत्रकारसंग भएको भेटघाटमा उनले कार्यक्रममा राज्य निर्माणमा सडक पुर्वाधारले ठुलो हिस्सा ओगटेको भन्दै धेरै रकम विनियोजन गरिएको जानकारी दिए । उनले भने – राज्यले नै सडक पुर्वाधारमा  १ खर्व ६३ अर्व रकम विनियोजन गरेकोले सल्यानमा पनि संघको तर्फबाट विनियोजन भएको बजेटमा सडक पुर्वाधारलाई पहिलो प्राथामिकतामा राखिएको हो ।
उनले कार्यविधिमा रहेर संघले बजेट विनियोजन गरेपनि स्थानिय तहसंगको साझेदारीमा मात्रै काम हुने भन्दै कामका बारेमा पत्रकारले पनि खवरदारी गर्न अनुरोध गरे । कामका क्रममा सरकारको तर्फबाट आफुहरुले अनुगमन, सार्वजनिक सुनुवाई गरेपनि पत्रकारले काममा निगरानी बढाउनुपर्ने उनको भनाई थियो ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजन बजेट मध्य सडकका १० योजनाका लागि ३ करोड ७० लाख ५० हजार, शैक्षिकका ५ योजनाका लागि ७८ लाख, खानेपानीका ४ योजनाका लागि ९४ लाख, सिचाईका ३ योजनाका लागि ३० लाख र तटबन्ध तथा अन्यका लागि २० लाख रकम विनियोजन भएको छ ।
जिल्ला समन्वय अधिकारी निम बहादुर वलीको सहजिकरणमा भएको कार्यक्रममा समन्वय प्रमुख केश बहादुर विष्ट तथा पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस