सल्यान जिल्ला केन्द्रित रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको सल्यानी युवा संजालले विगतका वर्षहरुमा झै यो वर्ष पनि देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
“सल्यानी लोक कला संस्कृतिको जगेर्ना गर्दै सल्यानी एकता र सद्भाव सहित देउसी भैलो २०७६ भव्य रुपमा सेलिब्रेट गरौं” भन्ने मुल मन्त्र बोकेर आज कार्तिक ९ गते देखि कार्तिक ११ गतेसम्म देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको पहिलो बजार कपुरकोटबाट सुरुवात भएर आज कार्तिक ९ गते संजाल परिवारको देउसी भैलो खलंगामा प्रस्थान गर्ने संजालका अध्यक्ष सुदर्शन बुढाथोकीले बताउनु भएको छ ।
त्यसैगरी भोलि कार्तिक १० गते सल्यानको लुहामदेखी श्रीनगरसम्म भैलो कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी अन्तिम दिन कार्तिक ११ गते बरलादेखी सुरु भएर बाङ्गेलाखुरीमा गएर देउसी भैलोको औपचारिक समापन हुनेछ । देउसी भैलोमा राष्ट्रियस्तरमा चर्चित सल्यानको मौलिक सरङ्ङया नाँच र सोरठी नाँच पनि विशेष प्रस्तुतिको रुपमा रहने संजालका महासचिब तेजकिरण वलीले बताउनु भएको छ । त्यसका साथसाथै गायकगायिकाको विशेष साङ्गितिक प्रस्तुती, नृत्य तथा विभिन्न रमाइला प्रस्तुती पनि विशेष आकर्षणको रुपमा रहनेछन् ।
संजालले यहि मंसिर १ गतेदेखी ५ गतेसम्म ‘बृहत् नि:शुल्क हाडजोर्नी शिविर’ पनि सञ्चालन गर्दैछ । सल्यानी युवा संजाल, द माउन्टेन मोबाइल हस्पिटल र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको संयुक्त आयोजना एवम् जिल्ला अस्पताल सल्यानको सहजीकरणमा जिल्ला अस्पताल सल्यानमा शिविर हुन लागेको हो ।
उक्त शिविरमा हात खुट्टा भाँचिएर बाङ्गो भएको, उपचार गर्न मिल्ने अपाङ्गता, स्टिल रड, तार, किला हाल्नुपर्ने र निकाल्नुपर्ने बिरामीहरूको नि:शुल्क अप्रेसन गरिनेछ भने अप्रेसनपछि नि:शुल्क औषधि वितरण गरिनेछ । शिविरका लागि नाम दर्ता यहि कार्तिक १५ गते देखि २५ गते सम्म गर्न सकिनेछ ।
नाम दर्ताको लागि संजालका सम्पर्क नम्बर : 9869976646, 9810358609 र 9866744327 मा सम्पर्क गर्न सकिनेछ ।