धार्मिक-सांस्कृतिक महत्व बोकेको मोखला शिव गुफाको अनौठो पौराणिक कथा (शेयर गरौं)

सल्यान जिल्लाको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा सुपरिचित शिव गुफाको मन्दिर बागचौर नगरपालिकाको वडा नं. १० स्थित मोखलामा अवस्थित छ । धार्मिक, प्राकृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेको यस शिव गुफाको मन्दिरमा हिन्दु धर्मका शिव-पार्वती देवीदेवताको पुजाआरधाना गर्ने गरिन्छ ।

हरेक वर्षको तिहार पछिको पूर्णिमाका दिन (मंसिर महिना) मा लाग्ने सल्यान जिल्लाकै ठुला मेलापर्व मध्येको एक भुमेश्वर मेलाका दिन यस शिव गुफा मन्दिरमा नगरपालिका भित्र र बाहिरका भक्तजन एवम् पर्यटकहरूको ठुलो घुँइचो लाग्ने गर्दछ ।

साथै, प्रत्येक कृष्ण जन्माष्टमीको अवसर पारी मोखला क्षेत्रमा लाखे नाँच पनि नाचिने गरिन्छ । जसको धार्मिक एवम् साँस्कृतिक रौनकताले यस क्षेत्रको महत्व र गरिमालाई थप उचाइ प्रदान गर्ने गरेको छ ।


मोखला शिव गुफाको प्राचीन इतिहासलाई नियाल्दा स्थानीयहरूका अनुसार परापूर्वकालदेखि नै मौजुद रहेको यस गुफालाई जंगलमा गाइबाख्रा चराउन आउने क्रममा ग्वालाहरूले सर्वप्रथम पत्ता लगाएको मानिन्छ ।

करिब करिब वि.सं. २०३५-४० तिरको समयदेखि सबैमाझ गुफा परिचित हुँदै गएको बुझिएको छ भने यसलाई छेकबार-घेरबार गर्दै संरक्षणको काम ०५० साल तिरबाट सुरु भएको मोखला बजारवासीको भनाइ छ । त्यसको झण्डै एक वर्षपछि ०५१ सालमा मोखलाबासीको नेतृत्वमा जनसर्वदानबाट मन्दिर निर्माण भएको थियो ।


करिब ५०-६० मिटर लम्बाई भएको यस मोखला शिव गुफा भित्र ढुङ्गाबाट बनेका विभिन्न अलौकिक स्वरुप र विभिन्न प्राकृतिक संरचनाहरू रहेको पाउन सकिन्छ । जसमा शिवलिङ्ग, गाईका थुनहरू, शर्पहरू, कमलको तलाउ, इत्यादी ढुङ्गाको चट्टानमा प्रतिबिम्बित छन् ।

स्थानीय जनश्रुती अनुसार महादेव भगवान पृथ्वी लोक भ्रमणका क्रममा मोखला शिव गुफाको प्वाल हुँदै कुमाखको सिद्धगुफामा पुग्ने गरेको कहावत रहेको पाइन्छ ।

हाल नगरपालिकाको सहयोगमा मन्दिर सम्म पुग्ने समुचित व्यवस्था हुनुका साथै विस्तारै खानेपानी, पिक्निक स्पट, धार्मिक तीर्थवर्तका लागि व्यवस्थित बस्ने ठाउँको समेत बिकास हुँदैछ ।

यति मात्र नभएर आगामी दिनमा यसको प्राचीन एवम् धार्मिक महत्वलाई प्रचारप्रसार गर्दै सबैमाझ पुर्याउन सकिएको खण्डमा बागचौर नगर मात्रै नभएर समग्र जिल्लाकै आन्तरिक तथा बाह्य पर्यटक आगमन संख्यामा बृद्धि भई आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।

शब्द: राजन के.सी.प्रमोद

प्रतिक्रिया दिनुहोस