नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीभित्र परेको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनसम्बन्धी अध्ययनमा सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।
पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये नेपालमा पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
नेपालपछि दोस्रोस्थानमा टर्की छ । टर्कीमा पर्यटकको आवागमन दर २१.८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ । यो तथ्यांक नेपालका लागि अहिलेसम्मकै उच्च हो ।
त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो । प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ ।
६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपाल सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए ।
यो वर्ष नेपालले १० लाख पर्यटक भित्राउने योजनाअघि सारेको थियो भने, सोहीअनुसार लक्ष्य पूरा गरेको पाटाको अध्ययनमा भनिएको छ ।