महेन्द्र देखि ज्ञानेन्द्र राजाले कुलपुजा गर्ने गरेको खैरावाङ मन्दिरको अनौठो पौराणिक कथा

खैराबाङ मन्दिरको पौराणिक कथा
स्थानीय वासिन्दाको भनाइलाई आधार मान्दा, परापुर्वकालको कुरा । स्थानीय एक महिला सदाझैं त्यस दिन पनि घाँस काट्न जंगलमा गएकी रैछिन् । घाँस काट्दै गर्दा एक्कासी उनले कतैबाट नौमती बाजा बजेको सुनिछिन् । आवाज बिस्तारै बिस्तारै ठूलो भैरहेको उनले पाइन् । एकाएक आएको आवाजले उनको होसहवास नै उडाइ दियो ।
प्रतिक्रियामा उनले चिच्याउदै सबै गाउँलेलाई बोलाइन् । सबै गाउँले पनि आत्तिदै जम्मा हुन पुगे । आवाज अझै आइरहेकै थियो । सबैजना गाउँले आवाजको स्रोत खोज्दै हिड्न थाले ।
खोज्दै जाँदा जंगलको बिचतिर रहेको एउटा बाँझको रुखमुनिबाट आवाज आइरहेको बुझ्नमा आयो । यसो नियालेर हेर्दा रुखको फेदैमा एउटा खड्ग निसानाको खुडा तलमाथि गर्ने क्रममा आवाज आइरहेको रहेछ ।
यो अजिबको लिला देखेर उनीहरू सब आश्चर्यचकित भए । संयोगबस त्यही रात गाँउको एक पण्डितको सपनामा समेत देवी प्रकट भएसँगै त्यहाँ मन्दिर बनाई पुजाआजाको सुरुवात भएको पौराणिक किंवदन्ती रहेको पाइन्छ ।

मन्दिरबारे केही महत्वपूर्ण जानकारी:
– कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको शारदा नगरपालिकामा अवस्थित ।
– दाङ तुल्सिपुरदेखि करिब ३ घण्टा तथा सल्यान जिल्लाको व्यापारिक केन्द्र श्रीनगरबाट झण्डै आधा घण्टाको दुरीमा रहेको ।
– ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण स्थल ।
– समुन्द्री सतहदेखि १,६०० फिटको उचाइमा २७ रोपनी क्षेत्रफलमा फैलिएको ।
– विशेषगरी बिजयादशमी तथा चैते दशैंको दिन पञ्चबलिका रुपमा राँगा, बोका, भेडा, परेवा र हाँसको बलि दिई भव्य रुपमा पुजा आराधना गर्ने प्रचलन रहेको ।
– मन्दिर दर्शन गर्न सल्यान सँगै दाङ, रूकुम, रोल्पा, प्युठान, बाँके, वर्दिया, सुर्खेत, कैलाली, दैलेख र जाजरकोट लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका ।
– नेपाल एकीकरण भन्दा पहिलेदेखि नै सल्यान, जाजरकोट, रुकुम, रोल्पा र प्युठानका राजाहरूले शक्तिपिठको रूपमा मान्दै आएका ।
– नेपाल एकीकरण पश्चात राजा गीर्वानयुद्धविक्रम शाह, पृथ्वीवीर विक्रम शाह, राणा प्रधानमन्त्री जङ्गबहादुर राणा आएका थिए भने राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र पनि कुल देवताका रूपमा पूजा गर्न आएका ।

प्रतिक्रिया दिनुहोस