सल्यान राज्यसँग पृथ्वीनारायण शाहको सम्बन्ध के ? एकीकरण अभियानमा कसरी भयो लडाईं ?

विक्रमको पन्ध्रौँ शताब्दीको अन्त्यतिर कर्णाली प्रदेशको खस राज्य टुक्रिँदै जाँदा विभिन्न राज्यहरूमा विभाजित हुन गयो । ती राज्यहरूमध्ये फालावाङ राज्य पनि एक हो । दक्षिणपूर्वी सल्यान क्षेत्र तत्कालीन यसै फालाबाङ राज्यभित्र पर्दथ्यो । यसरी पूर्वी क्षेत्रको ऐतिहासिक परिवेशको चर्चा गर्न सकिन्छ ।

पृथ्वीनारायण शाहले आफ्नी छोरी विलास कुमारीलाई सल्यानी युवराज रमणीय शाहसँग वि.सं. १८२३ मा विवाह गरि दिएको र एक ताम्रपत्र अनुसार पृथ्वीनारायण शाहले आफ्नी सुपुत्रीलाई कोर्वाङ, छिल्ली, थपाला, फालावाङ, दाङ, देउखुरी दाइजो स्वरूप दिएको कुरा उल्लेख भएबाट यो राज्य सल्यान राज्यमा गाभिएको कुरा स्पष्ट हुन्छ । तत्कालीन फलावाङ राज्यको पुतली दरबार र जीर्ण अवस्थामा रहेको लाल दरबार हालसम्म पनि यहाँ विद्यमान छन् ।

तत्कालीन फालाबाङ दरवार !

विलास कुमारीले सल्यान गरिब भएको र राम्रोसँग खान नपुग्ने गुनासो बुबा समक्ष व्यक्त गरेपछि त्यसको प्रत्युत्तरमा पृथ्वीनारायण शाहले केही समयपछि दाङ राज्य जितेर सल्यानलाई दिउँला भन्ने वचन दिएका थिए । पृथ्वीनारायण शाहको देहान्तपछि राजेन्द्र लक्ष्मीदेवी र बहादुर शाहले एकीकरण अभियानलाई निरन्तरता दिने काम गरे । यसै क्रममा दाङ राज्यमाथि आक्रमण गरी विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहको नीति अनुरूप दाङ राज्य सल्यानलाई दिएर बहादुर शाहले सल्यान राज्यलाई एक अधीनस्थ राज्यको रूपमा रहन दिए, तर भीमसेन थापाले पाल्पा विजय गरेपछि पृथ्वीनारायण शाहको नीतिलाई बेवास्ता गरी अङ्ग्रेजसँग साँठगाँठ गरेको आरोपमा सल्यानमाथि आक्रमण गरी विजय प्राप्त गरेर केन्द्रीय राज्यमा मिलाए ।

राजा पृथ्वीनारायण शाह !

केही समयपछि राजेन्द्रविक्रम शाहले सल्यानका राजा तेजविक्रम शाहलाई सल्यान राज्य फिर्ता दिएका थिए । संरक्षित राज्यका रूपमा रहेको सल्यान राज्यले वैवाहिक सम्बन्ध (वीर शमशेरकी छोरीको विवाह सल्यानी राजा शमशेर बहादुर शाहसँग भई सम्बन्ध कायम भएको) का कारण आफ्नो छुट्टै अस्तित्व बनाएको थियो । यसरी सल्यान ऐतिहासिक राज्यका रूपमा पनि परिचित थियो । त्यसै राज्य अन्तर्गत दक्षिण पूर्वी सल्यानको पनि अस्तित्व रहेको थियो ।

 

सल्यान जिल्लाको नक्सामा १० स्थानीय निकायहरू …

सल्यानको पूर्वी क्षेत्रमा दार्माकोट, कोटमौला, शिवरथकोट र कोटमौला जस्ता अग्ला डाँडाहरूमा पुराना दरबारहरू र ससाना मन्दिर देवलहरू भएकाले हालसम्म पनि त्यहाँ प्राचीन अवशेषहरू भेट्न सकिन्छ जसको ऐतिहासिक रूपमा छुट्टै महत्व रहेको पाइन्छ । स्याँनी कुमाख, खामे लेक र ठुली कुमाख जस्ता प्रसिद्ध अग्ला धरोहरहरू यहाँ छन् । यहाँको छायाँ क्षेत्र मन्दिर शिवले पार्वतीको केही अङ्ग पतन गराएको शक्तिपिठको रूपमा प्रसिद्ध छ । यसरी ऐतिहासिक रूपमा सल्यानलाई केलाउँदा यो एउटा छुट्टै विशेषता बोकेको लोक संस्कृतिले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ ।

(रमेश कुमार डाँगीको सोधपत्र ‘सल्यानको पूर्वी क्षेत्रमा प्रचलित लोकगीतहरूको अध्ययन’ बाट साभार गरिएको)

प्रतिक्रिया दिनुहोस