विराटनगर, असोज २७ ।
मोरङको विराटनगर महानगरपालिका-११ माइती भएकी एक विवाहित महिलाको शव सीमावर्ती बजार जोगवनीदेखि ३ किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।
भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ। मृतकको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ।
भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका-२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ। सासू र जेठानी भने फरार रहेकोमा उनीहरुको खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ छ।
कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
रासस