प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसले गरेको योगदान महत्वपूर्ण भएको बताएका छन्।
दसैं, तिहार र छठका उपलक्ष्यमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले आफू र देउवा ४५ वर्षदेखिका साथीहरु भएको बताए। देउवासँगै कांग्रेसका धेरै नेताहरु लोकतन्त्रका लागि लडेको उनले स्मरण गरे।
‘देउवा र म विगत ४५ वर्षदेखिका साथी हौं, लोकतन्त्रका लागि सँगै लडेका छौं, सँगै जेल बसेका छौँ’ उनले भने ‘कमसेकम लोकतन्त्रका आधारभुत मान्यतालाई तलमाथि पर्न नदिने हाम्रो साझा एजेन्डा छ।’
अहिले दलहरुबीच सम्वन्ध राम्रो रहेको उनले दावी गरे। चाडवाडले राजनीतिक दलहरुको सम्वन्ध तथा सुव्यवस्था बढाउन मद्दत पुर्याउने उनले बताए। राम्रा कार्यमा मिलेर जुट्न यस्ता चाडवाडले सघाउ पुग्ने उनको भनाइ छ। परम्पराका नाममा नराम्रा आदतहरु हटाउनुपर्ने र असल कार्यहरुलाई अघि बढाउनुपर्ने उनले बताए।
अन्त्यमा उनले ‘नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल’ भनी सम्वोधन टुंग्याए।
(सेतोपाटीबाट)