चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई पाँच सुझाव दिएका छन्।
होटल सोल्टीमा आइतबार बिहान साढे १० बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तथा सचिवालय सदस्यहरू ईश्वर पोखरेल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ तथा महासचिव विष्णु पौडेलले र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले सामुहिक रुपमा चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङसँग भेटवार्ता गरेका थिए।
भेटमा चीनतर्फबाट स्टेट काउन्सिलर तथा पोलिटब्यूरो सदस्य याङ जेइची, विदेशमन्त्री तथा केन्द्रीय सदस्य वाङ यी, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी भएका थिए।
भेटवार्तामा नेकपा सचिवालयका नेताहरुलाई सीले पाँच सुझाव दिएका छन्। भेटवार्तामा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सीले दिएका सुझाव यस्ता छन्ः
१. नेपालको विकासमा सहयोग गर्नेः
राष्ट्रपति सीले नेपालले राजनीतिक स्थायीत्व हासिल गरि आर्थिक विकासका लागि ‘समृद्ध नेपाल’ भन्ने नारासहित अघि बढेकोमा खुशी व्यक्त गर्दै बधाई दिए। नेपालको विकासमा हामी साझेदार र सहयोगी बन्न तयार छौं भन्ने भाव सीको थियो।
२. चीन–नेपाल सम्बन्ध बलियो बनाउनेः
सीले नेपाल र चीन इतिहासदेखिकै असल मित्र भएको उल्लेख गर्दै समस्यारहित सम्बन्धलाई थप सबै तहमा बलियो बनाउन सरकार, पार्टी र जनताबीच तीन स्तरमा मिलेर काम गर्नुपर्ने बताए। सरकारबीचको सम्बन्धले मात्र नपुग्ने भन्दै उनले पार्टी र जनताको तहसम्म सम्बन्ध बढाउन जोड दिए।
३. अनुशासन र सुशासनः
सीले चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव सुनाउने क्रममा पार्टीभित्रको अनुसासन र पार्टीभित्रको सुशासनले मात्र सत्ता संचालनमा सहज भएको बताएका थिए। ‘सीले जनताको मन जित्न र राज्य संचालन गर्न सबैभन्दा महत्वपूर्ण कुरा पार्टीभित्रको अनुसाशन र सुशासन हो, भन्नुभयो’, श्रेष्ठले सीलाई उद्धृत गर्दै भने।
४. प्रतिकुलतामा समाजवादः
जस्तोसुकै प्रतिकुलता भएपनि हामी समाजवादको दिशामा अघि बढिरहेका छौं। हामीले सन् १९४९ मा कम्युनिष्ट पार्टी सत्तामा पुगेको आधारमा मात्र सत्तामा टिकेका होइनौं। हामीले गरिब र जनताको पक्षमा काम गर्न सकेकोले हाम्रो पक्षमा जनसमर्थन भएकोले टिकेका हौं। पहिलाको आधारमा हामी त्यतिकै टिकिरहेका छौं भन्ने कुरा सत्य होइन भन्ने कुरा सीले राखेका थिए।
५. नेपाल–चीन सम्बन्धमा प्रतिकुलता र चुनौतिः
सीले नेपाल र चीनबीचको सम्बन्धलाई विश्लेषण गर्नेक्रममा अनुकुलता र प्रतिकुलताको प्रसंग निकालेका थिए। हामीबीच अनुकुलता र प्रतिकुलता दुवै छन्, अनुकुलतालाई लिएर प्रतिकुलतालाई चिर्दै जानुपर्दछ भन्ने भाव उहाँको थियो, श्रेष्ठले खुलाए।
प्रचण्डले सीलाई यसो भने
श्रेष्ठले दिएको जानकारीअनुसार प्रचण्डले चीनसँगको सम्बन्धलाई नेकपाले निकै महत्व दिएको जनाउँदै नेपालको एक चीन नीतिप्रति नेकपा व्यवहारिक रुपमा नै प्रतिबद्ध भएको बताए।
‘हामी आर्थिक समृद्धि र विकासको यात्रामा भएकोले चीनको थप सहयोगको अपेक्षा गरेका छौं’, अध्यक्षको भनाइ उद्धृत गर्दै श्रेष्ठले।
सुरुमा प्रचण्डले ‘चीन जसरी चिनियाँ विशेषतासहितको समाजवादबाट विश्वशक्ति बनेर उदाएको छ, त्यसमा हामी बधाई दिन चाहन्छौं’ भनेर कुरा सुरु गरेका थिए।
भेटवार्तामा सीले नेकपाका सबै नेतालाई चीन भ्रमणको निम्तो दिएका छन्।