सिन्धुपाल्चोक बस दुर्घटनाका ८१ घाइते घर फर्के, ६ जनाको अवस्था अझै चिन्ताजनक

बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ।

हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका १० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पुर्‍याइएको थियो।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन्। त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन्। सात घर फर्केका छन्। शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस