आज असोज २६ गते कोजाग्रत पूर्णिमाको अवसर पारेर हरेक वर्षझैं सल्यानको सुप्रसिद्ध धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाख लेकमा सल्यान कै भव्य मेला लाग्दैछ ।
सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रुपमा सुपरिचित छ । सल्यान सदरमुकाम खलंगादेखि करिब ८ घण्टाको पैदल यात्राको दुरीमा रहेको यो लेक जिल्लाकै दोश्रो अग्लो पहाड पनि हो । यसको उचाई २५३७ मिटर रहेको छ । यस पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ ।
कुमाख पुगेपछि घुम्नैपर्ने ठाउँ हो- सिद्ध गुफा । प्राचीन महत्व र पुरातात्विक सम्भावनाले भरिएको यस सिद्ध गुफा चर्चित लेक कुमाख सँगै रहेको छ । गुफाको लम्बाई करिब १५० मिटर रहेको देखिन्छ ।
प्राचीन महत्व र ऐतिहासिक कथा
करिब ५० को दशकको कुरा । गाउँलेहरूले शिकारको क्रममा दुम्सी लखेटिरहेका थिए । लखेट्दै जाँदा दुम्सी एउटा ओडार भित्र पस्न पुग्यो । हत्तपत्त शिकारीहरू पनि ओडारभित्र दुम्सी पकड्न पुगे । यस्तैमा उनीहरूले ओडारभित्र चमेराको मल (दिशा) भेटेछन् । खोज्दै जाँदा मलसँगै उनीहरूले अनेक-अनेक मुर्तीहरू भेट्टाए ।
अनकन्टार जंगलभित्रको गुफामा अचानक त्यसरी मुर्तीहरू भेट्टाउँन पुग्दा उनीहरू आश्चर्यचकित हुन पुग्छन् । मुर्तीहरू केही शिव-पार्वतीका थिए भने, केही जनावरहरूका, केही शिव लिङ्ग आकारमा कुँदिएका त केही चट्टानमा गाईका थुन प्रतीत हुने आकृतिहरू पनि देखिए । केही आश्चर्य, केही डर र केही रोमाञ्चकता सहित उनीहरूले सबै गाउँलेलाई त्यो गुफाबारे सुनाए ।
त्यसपछि सिद्ध गुफाको उत्खनन् एवम् प्रचलनमा आएको गाउँलेहरूको श्रुतिकथाबाट बुझ्नमा आएको छ ।
त्यसपछि केही समय पहिले मात्रै गाउँकै एक चेली, जो २० वर्षको अल्पायु मै बितेकी थिइन्, उनै शिला कुमारी चलाउनेको नामबाट दान स्वरुप यस गुफाको संरक्षण कार्य सुरु भएको थियो । जस अन्तर्गत गुफामा पुग्नका लागि भर्याङ एवम् केही संरक्षण कार्य भएका थिए । थप संरक्षण एवम् प्रबर्द्धनका लागि स्थानिय एवम् प्रदेश सरकारबाट पदमार्ग तथा गोलघरको निर्माण गरिएको छ ।
कुमाखको सिद्ध गुफामा जानका लागि बनाइएको पदमार्ग ।
सिद्धकुमाख गाउँपालिकाको चाख्लीघाटबाट ७-८ किलोमिटरको दुरी तथा ढोरचौरबाट १०-११ किलोमिटरको दुरीमा रहेको यस सिद्ध गुफामा हरेक वर्ष शिवरात्रीको दिन भव्य मेला एवम् पूजाआजा हुँदै आइरहेको छ ।
धार्मिक, प्राकृतिक एवम् पुरातात्विक महत्व र सम्भावना बोकेको यस सिद्ध गुफाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रचारप्रसार एवम् प्रवर्द्धन गर्न सकेको खण्डमा यस गाउँपालिकाको आर्थिक विकास एवम् गौरव झनै बृद्धि हुने अवश्याम्भावी छ ।
शब्दः राजन के.सी. प्रमोद