चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणलाई मध्यनजर गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
शनिबार बिहानैदेखि नेपाली सेना गस्तीमा खटिएको छ। फरक-फरक टोली बनाई सडकको विभिन्न भागमा सेनाका जवानले गस्ती गरिरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने भएका हुन्।
चिनियाँ राष्ट्रपति सी विशेष विमानबाट आज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन्। राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुनेछन्।
यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार
अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७:३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना
आइतबार
बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२:३० बजे स्वदेश फिर्ता