हरेक वर्ष प्रदान गरिँदै आइरहेको ‘दीप–गोविन्द स्मृति सम्मान’ अन्तर्गत सृजनात्मक पत्रकारितातर्फ यो वर्ष पत्रकार, लेखक तथा सम्पादक विमल आचार्यलाई ‘गोपाल गोतामे स्मृति सम्मान’ प्रदान गरिएको छ ।
आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना आमाबाबु तथा दाजुहरुको नाममा २०६० सालमा स्थापना गरेका थिए । ‘गोपाल गोतामे स्मृति सम्मान’मा १० हजार रुपैयाँको पुरस्कार राशी रहेको छ ।
आख्यानकार गौतमका दाइ समेत रहेका गोपाल गोतामे पेशाले पत्रकार थिए । उनकै सम्झनामा यो सम्मान पुरस्कार पत्रकारिता जगतमा सृजनशिलता देखाउने पत्रकारलाई दिने गरिएको छ । पत्रकारको रुपमा यो वर्ष विभिन्न पत्रिकामा रहेर आफ्नो सृजनशिलता मार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउन गरेको यागदानको कदरस्वरुप आचार्यलाई यो वर्षको सम्मान प्रदान गरिएको गौतमले उल्लेख गरे ।
आचार्य हाल अन्नपूर्ण पोस्ट दैनिकमा शनिबारीय परिशिष्टांक `फुर्सद´ संयोजकका रूपमा क्रियाशील छन् ।
कोषअन्तर्गत, दीप–गोविन्द स्मृति सम्मान ‘निदाउन नसकेका रातहरु’ कथासंग्रहका लागि कथाकार गोपाल अश्कलाई प्रदान गरिएको छ भने ‘अविश्रान्त’ उपन्यासका लागि अम्बिका अर्याल र निरन्तर गद्यलेखनमा योगदान पुर्याए बापत साहित्यकार रमेश गोर्खालीलाई यस वर्षको धच गोतामे स्मृति सम्मान प्रदान गरिएको छ ।
ध्रुवचन्द्र गौतम र धनुषचन्द्र गोतामे साख्खे दाजुभाइ हुन् । उनीहरूले क्रमशः ‘अलिखित’ र ‘घामका पाइलाहरू’ उपन्यासका लागि मदन पुरस्कार पाएका थिए । गोपाल गोतामे पनि यी गौतम ब्रदरका दाजु एवम् वीरगन्जका पुराना पत्रकार हुन् ।
सम्मान समारोहमा साहित्यकार नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, रोशन थापा ‘निरव’ लगायतले बोलेका थिए ।