बागचौर नगरपालिका सल्यानको चौथो नगर सभा सम्पन्न

बागचौर नगरपालिकाको चौथो नगर सभा शुक्रवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको बागचौर नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।

शुक्रवार सम्पन्न हिउँदे नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बताए । उनले समग्र नगर विकासको लागी टुक्रे बजेट विनियोजन गर्ने खाले योजनाहरू अघि नसार्न नगर भित्रका वडा अध्यक्षहरूलाई अनुरोध गरेका छन् । टुक्रे बजेटले प्रभावकारी विकास नहुने भएकाले महत्त्वपूर्ण प्रभावकारी योजनाहरू अगाडी बढाउनु पर्ने बताए। नगरप्रमुख बुढाथोकीले वडा अध्यक्ष र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।

साथै बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले नगर स्तरीय सहिद रिङ्गरोड, भ्युटावर निर्माण, संग्रहालय तथा पार्क, शिक्षा, खेलकुद, कृषि, स्वास्थ्य, खानेपानी, बिधुत देखि चालु आर्थिक वर्षको हाल सम्म कार्यपालिका तथा अन्य विषयगत समितिहरूबाट भएका निर्णयहरू सभामा प्रस्तुत गरेकी थिइन् ।
नगरसभाका सदस्यहरूले उपप्रमुख पुनबाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन गरेको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले जानकारी दिएका छन् ।
नगरसभाका सदस्यहरूले विगत ६ महिनाको प्रगति विवरणमा समीक्षा गर्दै विभिन्न जिज्ञासाहरू राख्नुका साथै स्थानीय सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्न गरी काम गर्नुपर्नेमा सबैको जोड रहेको थियो ।

बागचौर नगरपालिकाले चालू खर्चलाई नियन्त्रण गर्दै आएको छ । यस पटक पनि चालू खर्चको रकम जोगाएर पुँजीगत खर्च (विकास निर्माणको खर्च) मा नगरसभाले राखेको छ ।
विभिन्न योजनाहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारसँग समपूरक अनुदान तथा विशेष अनुदान कार्यक्रम मार्फत कार्यान्वयन गर्नका लागी अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

जसमा अग्ला टाकुरा भ्यु टावर, संग्रहालय तथा पार्क निर्माण, बागचौर-कोटमौला-पातिहाल्न सडक, सेराचौर-नाउलाचौर सडक, हिमचौर-पातिहाल्न सडक स्तर उन्नति, कोटबेत खानेपानी योजना, वडा नं ७ मा रंगशाला निर्माण, बागचौर नगरपालिका वडा न २ चिस्यान केन्द्र लगायत विभिन्न योजनाहरू रहेका छन् ।

उक्त कार्यक्रममा बागचौर नगरपालिका परीक्षा समितिको आयोजनामा फागुन १६,१७,१८ र १९ गते सञ्चालन गरिएको कक्षा ९ को नगरपालिका स्तरीय उपलब्धि परीक्षामा प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थी र बिधालयका प्रधानध्यापकहरुलाई सम्मान गरिएको थियो ।

जस अन्तर्गत प्रथम स्थान हासिल गर्ने दुर्गा सरस्वती मावि देउपुरिडाँडाका विद्यार्थी विवेक वली , दोस्रो स्थान हासिल गर्ने सरस्वती मा.बि पेदिखोलाका डिल्लीराज बस्नेत, तेस्रो स्थान हासिल गर्ने दुर्गा सरस्वती मा.बि देउपुरिडाँडा पवन वली र चौथो स्थान ल्याउन सफल जनकल्याण नमुना मावि थारमारेका सुमन शर्मालाई नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै सोही बिधालयका प्रधानध्यापकहरु नेवबहादुर वली, रामरोशन बस्नेत र पूर्णबहादुर भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

नगर सभा फागुन ३० गते तोकिएको थियो तर नेपाल बन्दले गर्दा एक दिन पछी चैत १ गते सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस