७ साउन २०८२/ सल्यान
सल्यान कारागारका कैदी बन्दीहरूका लागि योग शिविर सञ्चालन गरिएको छ।
कैदी बन्दीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा योग शिविर आयोजना गरिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सल्यान जिल्ला प्रहरि प्रमुख डाक्टर हेम केसीले योग प्रशिक्षण दिएर योग शिविरको सुरुवात गर्नुभएको हो । योग शिविरमा कैदी बन्दीहरूलाई तनाव व्यवस्थापन, सकारात्मक सोच विकास, र मानसिक शान्तिका लागि योग शिविर सञ्चालन गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार शिविरमार्फत कारागारमा रहेका कैदीहरूलाई आत्म सुधार र पुनर्स्थापनाको मार्गमा अग्रसर गराउने प्रयास गरिएको हो ।
प्रहरी प्रमुख केसीले कारागारमा रहेका कैदी वन्दीको शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले योग सञ्चालन गरेको बताउनुभयो । यसले कैदी बन्दीलाई सकारात्मक बाटोमा लैजान प्रहरीले रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । योग शिविरमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतले प्रशिक्षण गराइरहनु भएको छ ।
जिल्ला कारागारमा हाल १२६ जना कैदी बन्दी रहेका छन्, जसमध्ये ११२ पुरुष, १३ महिला र १ जना ना बालिका छन्। उनीहरूमध्ये धेरैजसो लागु औषध दुर्व्यसन, जबरजस्ती करणी ९जजक०, मानव बेचबिखन, बहुविवाह, कर्तव्य ज्यान, र ज्यान मार्ने उद्योग जस्ता अभियोगमा सजाय काटिरहेका छन्। तीमध्ये सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका कैदी रहेको कारागार प्रशासनले जनाएको छ।