२४ कार्तिक २०८०/ सल्यान
जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले अनुदानका कार्यक्रमहरु पहुँचको आधारमा बितरण गर्ने परिपाटीको अन्त्य गर्नु पर्ने बताउँनु भएको छ ।
शुक्रवार सल्यानको श्रीनगरमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख रावलले वास्तविक किसानले पाउनु पर्ने अनुदानका कार्यक्रमहरु पहुँच हुनेहरुले पाउने गरेकाले उक्त परिपाटीको अन्त्य हुनु पर्ने बताउनु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन एकाइ सल्यान / रुकुम पश्चिमको आयोजनामा भएको,स्थानीय तहमा कार्यरत कृषि /पशु सेवा प्राविधिकहरुको लागी अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले वास्तविक किसानहरु अनुदान लिने ठाउँ सम्म आउन नसक्ने बताउनु भएको छ ।उहाँले वास्तविक किसानहरु आफ्नो पौरखमै रमाउने भएकाले अनुदानको लागि सम्बन्धित ठाउँ सम्म पुग्न नसक्ने बताउनु भएको हो । उहाँले वास्तविक किसानहरुलाई माथी उठाउनको लागि अनुदानका कार्यक्रमनै राज्यले हटाएर जस्ले अनुदानमुखी कार्यक्रम गर्छ त्यसलाई प्रोत्साहन स्वरुप नगद पैसा दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असविर बुढाथोकीले पछिल्लो समयमा किसानहरु कृषि क्षेत्रबाट आत्मनिर्भर हुन नसक्ने अवस्थामा आएको बताउनु भयो । किसानहरु अनुदानकै लागि किसान बन्नु पर्ने अवस्था,वास्तविक किसानले सरकारी तथा गैरसरकारी क्षेत्र बाट पाउनु पर्ने अनुदानका कार्यक्रमहरु नपाउदा आत्मनिर्भरता लाई त्यागेर परनिर्भरतामा बस्नु पर्ने अवस्था सृजना भएको बताउनु भयो ।उहाँले किसानहरुलाई आफ्नो पेशा प्रती जागरुक गराउन अनुदान मात्र नभएर सरोकारवाला निकायले विभिन्न पक्षमा समन्वय गर्नु पर्ने बताउनु भयो ।उपप्रमुख बुढाथोकीले राज्यले किसानलाई प्रोत्साहन दिने किसमका कार्यक्रम ल्याउनु पर्ने र अनुदान बितरणमुखि मात्र नभएर परिणाममुखी कृषक तयार गर्नु पर्ने बताउनु भयो ।
यस्तै आफू कार्यरत कार्यालयको कामलाई व्यवस्थित गराउनुका साथै नीति बिधीमा रहेर कार्य सम्पादन गर्न ,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाई खुमलटारका प्राविधिक सायक प्रकाश सिवाकोटीले,सहभागी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।उहाँले कृषी क्षेत्रमा काम गर्न त्यति सहजता नभएपनी आफ्नो कर्तव्यलाई विर्सन नहुने बताउनु भयो ।सिवाकोटीले कृषि क्षेत्रलाई व्यवसायीकरण गरेर देशलाई आर्थिक समृद्धिमा लिने जिम्मा आफुहरुको भएकाले लगनशील भएर आफुहरुले काम गर्नु पर्ने बताउनु भयो । जिल्लाका दशवटा स्थानीय तहका कृषि प्राविधिक र पशु प्राविधिकको सहभागीता रहेको कार्यक्रममा बोल्दै जोन परियोजना सल्यानका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले आफुहरुले उत्पादनको हिसावले अनुदान दिने परिपाटीलाई अगाडि सारेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका न्यौपानेले पहिले लागतको आधारमा किसानलाई अनुदान दिने गरेको र अहिले उत्पादनका आधारमा अनुदानका कार्यक्रमलाई अगाडि बढाइको बताउनु भयो ।उहाँले आफ्नो क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि लोभ लालच र राजनीतिक दबाबमा रहेर काम नगर्न आग्रह गर्नु भएको छ ।कार्यालय प्रमुख न्यौपानेले कार्यक्रमको उधेश्य,लक्ष र कार्यक्रमको प्रभावकारीता बारे प्रष्ट पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण जोन परियोजना सल्यानमा कार्यरत नायब प्राविधिक सहायक बिनोद वली गर्नु भएको थियो ।