सल्यानको कपुरकोटमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ वैशाख २०८०/सल्यान

सल्यानको कपुरकोट गाउँपालिकामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार भएको अन्तरक्रिया कार्यक्रममा बेमौसमी तरकारी खेतिको विषयमा छलफल गरिएको थियो ।
छलफल बाट सल्यानमा कृषि क्षेत्रको विस्तार र बजारीकरण गर्नका लागि सरोकारवालाहरुले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन

१२ बुदे प्रतिबद्धतामा बेमौसमी तरकारीका लागि कपुरकोट ब्राण्ड र अन्य जुडीबुटी, तरकारी, फलफूल, दूग्धजन्य पदार्थहरु, पशुजन्य उत्पादन र अन्नबाली, हावापानी, भूगोल र व्यवसायीकरणको सम्भावना अनुसार विशेष उत्पादन क्षेत्र निर्धारण गरी स्थान विशेष उत्पादन परिमाणको आधारमा ब्राण्डिङ गरी उत्पादन, प्रबर्द्धन र निर्यात गर्ने जनाएको छ ।


कपुरकोट गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, जिल्लाका १० वटै पालिकाका, रुण्ढीगडी गाउँपालिका र त्रिवेणी गाउँपालिका रोल्पाका प्रमुखहरु, जिल्ला कृषि विकास कार्यालय सल्यान, कृषि क्षेत्र विकास कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लगायतका कृषि सँग सरोकार राख्ने निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिवद्धताहरूः
१) हामी सम्पूर्ण सरोकारवालाहरू बेमौसमी तरकारीका लागि कपुरकोट ब्राण्ड र अन्य जडिबुटी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थहरू, पशुजन्य उत्पादन र अन्नबालीको, हावापानी, भूगोल र व्यवसायीकरणको सम्भाव्यता अनुसार विशेष उत्पादन क्षेत्र निर्धारण गरि स्थान विशेष उत्पादन परिमाणको आधारमा बाण्डीङ गरी उत्पादन, प्रबर्द्धन र निर्यात गर्न सहमत छौं।

२) हामी सम्पूर्ण सरोकारवालाहरू कपुरकोट हाटबजार समितिमा अन्य पालिकाका मूल हाटबजार समितिका अध्यक्षहरू स्वतः सदस्य रहने गरि एकिकृत कृषि उपज निर्यात गर्न हाटबजारसमन्वय समिति गठन गर्न सहमत छौं।

३) हामी सम्पूर्ण सरोकारवालाहरू कृषि एम्बुलेन्स र ठूला शहरहरूमा कपुरकोट तरकारी स्टल स्थापना गरी कपुरकोट हाटबजार व्यवस्थापन समितिले व्यवस्थापन गर्ने गरि एकद्वार प्रणाली मार्फत निर्यात प्रवर्द्धन गर्न सहमत छौं।
४) हामी सम्पूर्ण सरोकारवालाहरू परम्परागत कृषि अनुदानमा परिवर्तन गरि उत्पादनमा आधारित अनुदान प्रणाली कार्यान्वयन गर्न, प्रदेश सरकारले नमुना कार्यविधी बनाई सबै पालिकाहरूले समर्थन मूल्य कोष कार्यविधि तर्जुमा गरि कोषको संचालन गर्न, एकरुपता सहितको न्यूनतम समर्थन मूल्य तोक्न सहमत छौं।
५) हामी सम्पूर्ण सरोकारवालाहरू किसानलाई कुनैपनि दायित्व नपर्ने गरी कृषि बाली उपजमा निर्यात कर (पालिकामा बाली विशेष कायम गर्न र कपुरकोट हाटबजारलाई निर्यात प्रवर्द्धन, बजारीकरण र व्यवस्थापनको लागि प्रति के.जी.२५ पैसा निर्यात कर) निर्धारण गर्न सहमत छौं।
६)हामी सम्पूर्ण सरोकारवालाहरू सबै पालिकाहरूमा पालिका स्तरीय हाटबजार समिति र सो अन्तर्गत संकलन केन्द्रहरू स्थापना गर्न र सबै हाटबजार समितिहरू कपुरकोट हाटबजार समितिको समन्वय र सहकार्यमा रही कृषि उपज निर्यात गर्न सहमत छौं।

७) हामी सम्पूर्ण सरोकारवालाहरू सबै पालिकामा माटो परिक्षण गर्न, प्राङ्गारिक मल उत्पादन प्रवर्द्धन गर्न र निर्यात हुने कृषि उपजमा प्रादेशीक विषादी प्रयोगशालाको संचालन गरि विषादी परिक्षण मार्फत (निश्चित सिमाभित्र रही विषादी अवशेष मात्रा सिमित गर्न) तथा प्राङ्गारिक मलको प्रयोगलाई बढवा दिँदै गुणस्तर चिन्ह राखि निकासी गर्न सहमत छौं।
८) हामी सम्पूर्ण सरोकारवालाहरू कृषिमा नविन प्रविधि विकास गर्न,कृषि पुर्वाधारहरु (चिस्यान केन्द्र, टनेल निर्माण, यान्त्रिकीकरण र सँकलन केन्द्र स्थापना) तथा मल, बीउ, बिषादी लगायत कृषी क्षेत्रमा लगानी बढाउन सहमत छौ।
९) हामी सम्पूर्ण सरोकारवालाहरू स्वदेशि तथा बिदेशी अनुसन्धानकर्ताहरुलाई सल्यानमा भित्र्याएर कृषी क्षेत्रमा खोज तथा अनुसन्धान गर्ने बाताबरण सृजना गर्न सहमत छौं।
१०) हामी सम्पूर्ण सरोकारवालाहरू कृषि क्षेत्रको आधुनिकिकरणका लागि समन्वय सहकार्य गरी अगाडि बढ्न सहमत छौं।
११) हामी सम्पूर्ण सरोकारवालाहरू बेमौसमी तरकारीको मूल्य श्रृङ्खला अवधारणामा काम गर्ने गरी सम्पूर्ण सरोकारवाला निकाय विच समन्वयमा कार्यक्रम संचालन गरि उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिन सहमत छौं।
१२) हामी सम्पूर्ण सरोकारवालाहरू रसायनिक मलखादको अभाव परिपूर्तिका लागि सल्यान जिल्लामा प्राप्त हुने रसायनिक मलको कोटालाई पर्याप्त मात्रामा वृद्धिका लागि सम्बन्धित निकायमा जोडदार माग गर्न सहमत छौं।

प्रतिक्रिया दिनुहोस