५ बैशाख २०८० /सल्यान
वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनको प्रचारप्रसार गर्न निर्वाचन आयोगले हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेको छ ।
यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्तसमेतको प्रतिकूल हुन जाने भएकोले वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्न आयोगले अनुरोध गरेको हो ।
आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर सुगम जिल्लाहरूमा उपनिर्वाचन हुन गइरहेकाले हेलिकोप्टर प्रयोग नगर्न भनेको हो ।
‘निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आग्रह गरेको छ ।
बैशाख १० मा हुन गइरहेको तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा हेलिकप्टर प्रयोग नगर्न आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।