नेपालका अधिकांश पालिकामा प्रमुख र उपप्रमुख दुवैमा पुरुष

७ जेष्ठ २०७९

स्थानीय तह सदस्य २०७९ निर्वाचन बाट नेपालका अधिकांश स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पुरुषनै निर्वाचित भएका छन् ।

 

निर्वाचनको नतिजा धमाधम आउने क्रममै हालसम्म करिब ६ सय ५० स्थानीय तहकोको नतिजा अनुसार संविधानले परिकल्पना गरेको समावेशीपनको उपेक्षा गरेको देखिन्छ । कुल स्थानीय तहको एक चौथाइ अर्थात डेढ सय गाउँपालिका/नगरपालिकाको नेतृत्वमा पुरुष मात्रै निर्वाचित भएका छन् ।

सत्तारुढ दलको गठबन्धन भएका अधिकांश ठाँउमा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषमात्रै निर्वाचित भएका छन् भने,महिलाको प्रतिनिधित्व हुन सकेको छैन ।हाल सम्मको नतिजा अनुसार एक नम्बर प्रदेशमा २६ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पदमा पुरुष रहेका छन् । मधेश प्रदेशको ३ स्थानीय तहमा दुवै पदमा पुरुष निर्वाचित भएका छन् । बागमती प्रदेशका ३८ पालिकामा यस्तै अवस्था रहेको छ।

धादिङको १० वटा स्थानीय तहमा कुनैमा पनि महिला छैनन । जिल्लामा रहेका १३ स्थानीय तहमध्ये एकजना पनि प्रमुख निर्वाचित भएनन । ३ जना महिला मात्रै उपप्रमुख भए ।
गण्डकी प्रदेशका २० स्थानीय तहमा दुवै पदमा पुरुष निर्वाचित भए । लुम्बिनी प्रदेशमा पनि १७ पालिकामा पुरुषमात्रै निर्वाचित भए । कर्णालीमा २५ र सुदुरपश्चिम प्रदेशमा १५ पालिकामा पनि प्रमुख र उपप्रमुखहरु पुरुष मात्रै निर्वाचित भए ।

 

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा अनिवार्य महिला उम्मेवारीको व्यवस्था गरेको छ । तर दुईमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिदा यो बाध्यता छैन ।उम्मेदवारी मनोनयनका क्रममा गठबन्धन वा तालमेल गरेका दलहरुले पद अनुसार भागवण्डा लिएकाले एउटामात्रै पदमा मनोनयन दर्ता गरेका थिए, जसले उनीहरुलाई महिला उम्मेदवारीमा कानूनी रुपमा बाध्यकारी बनाएन ।

यसपाली महिला प्रतिनिधित्व घट्नको प्रमुख कारण तालमेलमा उम्मेद्वारी दर्ताबाट महिला उम्मेदवारहरुको प्रतिनिधित्व नै कम हुनु हो । गठबन्धनबाट उम्मेद्वार बनेका अधिकांश पुरुष छन् । निर्वाचित हुँदा पनि उनीहरु नै निर्वाचित भएपछि महिलाको प्रतिनिधित्व निराशाजनक बनेको हो ।

प्रतिक्रिया दिनुहोस