आज कुमाखको मेला, सक्दो शेयर गर्दै कुमाखको महत्वलाई नेपालभरी फैलाऊँ

तस्वीरमा सुन्दर मनमोहक कुमाख लेक । स्रोतः वामदेव के.सी.

आज असोज २६ गते कोजाग्रत पूर्णिमाको अवसर पारेर हरेक वर्षझैं सल्यानको सुप्रसिद्ध धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कुमाख लेकमा सल्यान कै भव्य मेला लाग्दैछ ।

सल्यान जिल्लाको गौरव, इतिहास र शानको सगरमाथा बनेर उभिएको कुमाख लेक यहाँको प्रमुख धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय स्थलको रुपमा सुपरिचित छ । सल्यान सदरमुकाम खलंगादेखि करिब ८ घण्टाको पैदल यात्राको दुरीमा रहेको यो लेक जिल्लाकै दोश्रो अग्लो पहाड पनि हो । यसको उचाई २५३७ मिटर रहेको छ । यस पहाडको शिरमा उभिएर समग्र सल्यान जिल्लाका साथै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, बाँकेका समेत सुन्दर मनोरम प्राकृतिक दृश्यहरूको रसावलोकन गर्न सकिन्छ ।

कुमाख लेक आफैमा एक प्राकृतिक भ्यु-टावर हो । तैपनि, आगामी दिनमा यहाँ व्यवस्थित रुपमा बाइनाकुलर सहितको सुन्दर भ्यु-टावर निर्माण गर्न सकिएको खण्डमा यस स्थानलाई पर्यटकीय स्थलको रुपमा थप प्रचारप्रसार गर्न सकिने देखिन्छ । पर्यटकीय घुमघाम तथा दृश्यावलोकनका लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो ।

कुमाख लेकलाई प्रसङ्ग बनाएर सल्यानका गाउँबस्तीहरूमा गीतभाकाहरू गाउँने चलन पनि खुबै चल्तीमा रहेको पाउन सकिन्छ । यसका केही प्रतिनिधि उदाहरणको रुपमा तलका केही पंक्तिहरूलाई लिन सकिन्छ ।

“कुमाखको हाइ हाइ जाडो बर्की ताना तानी,

काँको हामी काँको तिमी भैगो चिनाजानी !!”

“माथि पर्‍यो कुमाख लेक तल स्यानी ज्यूला, 

फूल जस्तो साइको जोबन अब मै’त लिउँला !!”

साविकका जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गा.वि.स.हरूलाई काखमा लिएर गजधम्म ठडिएको यस पहाडको टुप्पामा सिद्ध बाबाको मन्दिर रहेको छ । पुजारी तथा स्थानीय बुढापाकाका अनुसार सिद्ध देवता मन्दिरको बन्द कोठाभित्र बस्दैनन् भन्ने धार्मिक एवम् पौराणिक मान्यता अनुरुप यहाँको सिद्ध मन्दिरमा छानो राखिएको छैन । हिन्दु धर्मावलम्बीहरूमाझ यस पवित्र स्थल निकै प्रसिद्ध रहेको छ ।

यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म सिद्ध देवताको भव्य रुपमा पूजाआजा हुने गर्दछ । यहाँ पहिलोपटक जानेले सात पटक मन्दिरको परिक्रमा गरेर बर माग्ने र सो पुरा भएपछि भेडो बली चढाउने चलन रहेको पाइन्छ । यस मन्दिरमा कहिलेदेखि पूजा गर्न थालियो भन्ने यकिन सहितको जानकारी कसैसँग पनि नभएको पाइन्छ । जिजुवाजेले पूजा गरेको बाजेले थाहा पाएको र बाजेले पूजा गरेको आफूले थाहा पाएको कुरा डाँगी थरका पुजारीहरु बताउँछन् ।

चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब १ कि.मि. तल जिमालीतर्फको समथर भू-भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्ने गरेको छ । यस दिन सल्यान मात्रै नभएर छिमेकी रुकुम, रोल्पा, जाजरकोट, सुर्खेत, दाङ, बाँके, लगायतका जिल्लाबाट मेला तथा कुमाख लेक अवलोकन गर्न आउने गरेका छन् । अहिले मेलास्थलसम्म मोटर बाटो पुगिसकेको अवस्था छ भने कुमाखको फेददेखि शिरसम्म पैदल यात्राका लागि सिँढी र थकाइ मार्नका लागि गोलघर सहितको व्यवस्थित पदमार्ग समेत बन्ने क्रममा रहेको छ ।

सल्यान जिल्ला कै प्रमुख पर्यटकीय स्थलको रुपमा सुप्रसिद्ध कुमाख लेकलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गर्दै आवश्यक पूर्वाधार र सुविधाहरूको व्यवस्था गर्न सकिएको खण्डमा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने र समग्रमा आर्थिक रुपमा समेत ठुलो फाइदा हुने देखिन्छ । यसका लागि सबैले आ-आफ्नो स्थानबाट सहयोगको कदम चाल्न जरुरी छ ।

सिद्ध गुफा

प्राचीन महत्व र पुरातात्विक सम्भावनाले भरिएको यस सिद्ध गुफा चर्चित लेक कुमाख सँगै रहेको छ । गुफाको लम्बाई करिब १५० मिटर रहेको देखिन्छ ।

करिब ५० को दशकको कुरा । गाउँलेहरूले शिकारको क्रममा दुम्सी लखेटिरहेका थिए । लखेट्दै जाँदा दुम्सी एउटा ओडार भित्र पस्न पुग्यो । हत्तपत्त शिकारीहरू पनि ओडारभित्र दुम्सी पकड्न पुगे । यस्तैमा उनीहरूले ओडारभित्र चमेराको मल (दिशा) भेटेछन् । खोज्दै जाँदा मलसँगै उनीहरूले अनेक-अनेक मुर्तीहरू भेट्टाए । अनकन्टार जंगलभित्रको गुफामा अचानक त्यसरी मुर्तीहरू भेट्टाउँन पुग्दा उनीहरू आश्चर्यचकित हुन पुग्छन् । मुर्तीहरू केही शिव-पार्वतीका थिए भने, केही जनावरहरूका, केही शिव लिङ्ग आकारमा कुँदिएका त केही चट्टानमा गाईका थुन प्रतीत हुने आकृतिहरू पनि देखिए । केही आश्चर्य, केही डर र केही रोमाञ्चकता सहित उनीहरूले सबै गाउँलेलाई त्यो गुफाबारे सुनाए । त्यसपछि सिद्ध गुफाको उत्खनन् एवम् प्रचलनमा आएको गाउँलेहरूको श्रुतिकथाबाट बुझ्नमा आएको छ ।

त्यसपछि केही समय पहिले मात्रै गाउँकै एक चेली, जो २० वर्षको अल्पायु मै बितेकी थिइन्, उनै शिला कुमारी चलाउनेको नामबाट दान स्वरुप यस गुफाको संरक्षण कार्य सुरु भएको थियो । जस अन्तर्गत गुफामा पुग्नका लागि भर्याङ एवम् केही संरक्षण कार्य भएका थिए । थप संरक्षण एवम् प्रबर्द्धनका लागि स्थानिय एवम् प्रदेश सरकारबाट पदमार्ग तथा गोलघरको निर्माण गरिएको छ ।

कुमाखको सिद्ध गुफामा जानका लागि बनाइएको पदमार्ग ।

सिद्धकुमाख गाउँपालिकाको चाख्लीघाटबाट ७-८ किलोमिटरको दुरी तथा ढोरचौरबाट १०-११ किलोमिटरको दुरीमा रहेको यस सिद्ध गुफामा हरेक वर्ष शिवरात्रीको दिन भव्य मेला एवम् पूजाआजा हुँदै आइरहेको छ ।

धार्मिक, प्राकृतिक एवम् पुरातात्विक महत्व र सम्भावना बोकेको यस सिद्ध गुफाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रचारप्रसार एवम् प्रवर्द्धन गर्न सकेको खण्डमा यस गाउँपालिकाको आर्थिक विकास एवम् गौरव झनै बृद्धि हुने अवश्याम्भावी छ ।

शब्दः राजन के.सी. प्रमोद

प्रतिक्रिया दिनुहोस